होम » कालीप्रसादले किन आफैं गाए ‘सुन बाटुली’?

कालीप्रसादले किन आफैं गाए ‘सुन बाटुली’?

by नागरिक टुडे

केही सातादेखि टिकटकमा धेरै मान्छे एउटै गीतमा नाचिरहेका छन्। नाचेका मात्र होइन, अभिनयको पृष्ठभूमिमा पनि त्यही गीत सुनिन्छ। बच्चादेखि पाका उमेरसम्मकालाई नचाइरहेको यो गीत हो- सुन बाटुली। यो गीत कालीप्रसाद बाँस्कोटाले गाएका हुन्। संगीतकार तथा गायक कालीप्रसादका ‘पारि त्यो डाँडामा’, ‘ठमेल बजार’, ‘निर जैले रिसाउने’ जस्ता गीतले धेरै स्रोतालाई नचाइसकेको छ।

मान्छेहरू नाच्न मन पराउँछन्। नाच्न नजान्नेहरू अरू नाचेको हेरेर रमाइदिन्छन्। यसरी नाच्दा वा नाच हेर्दा अपरिचित मान्छेसमेत भावनात्मक रूपमा जोडिन्छन्। कालीप्रसादलाई संगीतको यही विशेषता खास लाग्छ।

‘त्यसैले लामो समयदेखि फेरि त्यस्तै रमाउने/नचाउने गीत बनाउन चाहन्थेँ। दुई वर्षअघि धनी सुनाम र विजु कर्माचार्यसँग सरसल्लाह गरेर यस्तै एउटा गीतको अवधारणा बनाएँ,’ कालीप्रसादले सुन बाटुलीको सिर्जनाबारे भने।

महामारीअघि नै अडिओ र भिडिओको तयारी समेत चलिसकेको थियो। त्यसैबीच लकडाउन भइदियो। स्थिति सहज भएपछि मात्र गीत सार्वजनिक गर्ने भनेर कुर्दाकुर्दै दुई वर्ष बित्यो। लामो समयको प्रतीक्षापछि हालै सार्वजनिक भएको हो सुन बाटुली।

स्रोताले मन पराएर नाचून् भन्ने सोचेर बनाएको यो गीतप्रति कालीप्रसाद आशावादी थिए, ढुक्क भने थिएनन्। गीत चल्नु/नचल्नुमा स्रोता निर्णायक हुन्छन् भन्ने उनलाई थाहा छ। त्यसैले कस्तो प्रतिक्रिया आउला भनेर उत्सुक थिए।

यसअघि कालीप्रसादको संगीतको ‘सुन साँइली’ अत्यधिक रूचाएका स्रोताले सुन बाटुली पनि उसै गरी मन पराइदिए। उनलाई के चाहियो! खुसीले गदगद बनेका कालीप्रसादले  भने, ‘सबै जनाले इन्जोय गर्ने, नाच्ने खालको गीत बनाउने सोच थियो। सुन बाटुलीमा धेरै जना नाचेको देख्दा आफैं पनि रमाइरहेको छु।’

यो गीतको भिडिओले दुई सातामै युट्युबमा २० लाख भ्युज पाइसकेको छ। यसमा स्वर, शब्द र संगीत कालीप्रसादकै छ। नेपाली लोकलय र फंक अफबिटको फ्युजन भएको गीत सुन्दै नाचूँ नाचूँ लाग्ने खालको छ। पहिला झ्याउरेमा लय बनाइसकेपछि दुई-तीन वटा बिट प्रयास गर्दै फंक बिटमा बनाउने निष्कर्षमा पुगेका थिए उनी।

उनका अनुसार फंक अफबिट संगीत नाच्न बाध्य पार्ने खालको हुन्छ। गीतको यही विशेषता ध्यानमा राखेर भिडिओमा नृत्यलाई केन्द्रमा राखिएको छ। कालीप्रसादले फंक अफबिटमा बनाएको यो पहिलो भने गीत होइन। ‘कबड्डी कबड्डी’ फिल्मको ‘लप्पन छप्पन जान्दिनँ’ गीत यही बिटमा थियो। तर उनको अपेक्षा जति चलेन। यसपटकको फंक अफबिट भने तीव्र गतिमा दौडेको छ।

ब्ल्याक हर्सको प्रस्तुति रहेको भिडिओ निश्चल बस्नेतले निर्देशन गरेका हुन्। भिडिओमा निश्चलसँगै स्वस्तिमा खड्कासहितको सामूहिक नृत्य देख्न पाइन्छ। प्रदीप लामाको कोरिओग्राफी धेरैले मनपराएका छन् भने सिनेमाटोग्राफर पवन सुस्लिङको काम पनि रूचाइएको छ।

निर्देशक निश्चलको ‘लुट’ फिल्ममा कालीप्रसादको संगीतको ‘ठमेल बजार’ हिट छ। उनकै संगीत र स्वरमा ‘घामड शेरे’ को हिट गीत ‘साली मनपर्‍यो’ मा पनि निश्चल नाचिसकेका छन्। कालीप्रसाद र निश्चलको जोडीको सुन बाटुलीले पनि अहिले दर्शक-स्रोताको मन जित्न सफल भएको छ।

अरू गीतभन्दा सुन बाटुलीमा निश्चलको नाच धेरैले प्रशंसा गरिरहेका छन्। यसमा निर्देशनबाहेक नाच्न पनि निश्चलले धेरै मेहनत गरेको कालीप्रसाद बताउँछन्।  ‘तीन दृश्यमा छायांकन भएको सुन बाटुलीको भिडिओ एक दिनमा तयार भएको हो,’ कालीप्रसादले भने, ‘तर यसका लागि निश्चलले एक महिनाभन्दा बढी तयारी गरेका थिए।’

कालीप्रसादले १३ वर्षअघि ‘चाहना सकियो’ गीतबाट संगीतकारका रूपमा औपचारिक यात्रा सुरू गरेका हुन्। ‘लैजा रे’ बाट चर्चा बटुलेका उनले धेरै गायकलाई संगीत क्षेत्रमा स्थापित गरेका छन्। खासमा उनी आफैं पनि गायक बन्न चाहन्थे। ‘रेशम फिलिली’ फिल्मको ‘पारि त्यो डाँडामा’ गीतपछि गायकका रूपमा पनि चिनिए। त्यसयता उनको स्वरमा ‘रेशम फिलिली’, ‘पंक्षी’, ‘निर जैले रिसाउनी’, ‘साली मनपर्‍यो’ जस्ता गीत रूचाइएका छन्।

अरू देशका स्रोताले पनि रूचाउने शैलीमा प्रस्तुत गर्न सके नेपाली लोकलयले संसारभरका स्रोता तान्न सक्ने मत उनी राख्छन्। गायकका रूपमा लोकलयमा आधारित गीत उनको रोजाइ र ‘कम्फर्ट जोन’ पनि हो।  सुन बाटुली पनि मेरो कम्फर्ट जोनकै गीत भएकाले आफैं गाएको हुँ,’ उनले भने।

तर आफ्नो कम्फर्ट जोनबाहिरका गीत पनि उनले गाएका छन्। ती गीत सुनेर कतिले प्रतिक्रिया दिएका छन्, ‘अरूलाई नदिएर आफैं किन गाएको?’ यसमा उनी भन्छन्, ‘कुनै गीत म आफैंले नगाएको भए हुन्थ्यो जस्तो मलाई पनि लाग्छ। तर ती गीत बनाउने बेला म यसरी डुबेको हुन्छु कि त्यसको मर्म अरूले बुझ्दैनन् कि भन्ने लाग्छ। त्यसैले आफैं गाउँछु। सुरूमा गायक बन्ने रहर थियो, तर कम्पोजर भएँ। अचेल त्यही गाउने रहर पनि पूरा गरिरहेको छु।’

संगीतकार वा गायक जुन भूमिकामा भए पनि उनको सफलता उक्लिँदो छ। नयाँ काम गर्ने वा सिक्ने स्वभाव नै सम्भवत कालीप्रसादको सफलताको मुख्य आधार हो। ‘संगीतमा नयाँ काम गर्न कम्फर्ट जोनबाट बाहिर निस्कनुपर्ने हुन्छ। यसका लागि म सधैं प्रयास गरिरहेको हुन्छु,’ उनी भन्छन्।

कालीप्रसाद सुन बाटुलीको भिडिओमा पनि देखिएका छन्। रियालिटी शोहरूमा निर्णायक पनि हुन्छन्। ‘नेपाल आइडल’ मा निर्णायक बनिसकेका उनी हाल ‘सारेगमप लिटल च्याम्प्स’ निर्णायक टोलीमध्ये एक हुन्। यस्ता शोमा निर्णायक हुनु र भिडिओमा देखिनुलाई पनि उनी नयाँ काम सिक्ने रहर मान्छन्।

यही रहरले उनलाई सुन साइँलीदेखि सुन बाटुलीसम्म ल्याइपुर्‍याएको छ। यी दुई गीतको संगीत ठ्याक्कै उल्टो धारको भए पनि यिनमा शाब्दिक समानता छ। कालीप्रसाद यो समानतालाई संयोग मात्र मान्छन्।

‘यी दुई फरक विधाका गीत हुन्,’ उनले भने, ‘यस्ता फरक सिर्जना गर्नु चुनौतीपूर्ण हुन्छ। कुनै पनि विधाको गीत बनाउँदा सुरूदेखि अन्तसम्म एउटै मुडमा हुनु आवश्यक हुन्छ। गीतले चाहेको मुडमा पुग्न कहिलेकाहीँ निकै लामो समय कुर्नुपर्छ।’

संगीत सिर्जना गर्ने उनको यो सिद्धान्त १३ वर्षदेखि कायमै छ। उनी हरेकपटक गीत बनाउँदा आफ्नो सन्तुष्टि प्राथमिकतामा राख्छन्। सन्तुष्ट नहुन्जेल काम गरिराख्न झर्को मान्दैनन्।

उनको शैली उस्तै भए पनि गीत प्रसारण हुने माध्यम, स्रोताले प्रतिक्रिया जनाउने तौरतरिकामा व्यापक हेरफेर भइरहेको छ। पहिले आफ्ना गीतले स्रोतामा पारेको प्रभाव कन्सर्टमा पुग्दा मात्र थाहा पाउने उनी अचेल टिकटक र युट्युब कभर भिडिओमा मान्छेहरू फरक हिसाबले रमाएको देख्छन्। सुन बाटुली सार्वजनिक भएपछि उनले यो परिवर्तन अझ बढी महसुस गरेका छन्।

‘पहिले एफएम/रेडियो, टेलिभिजनबाट स्रोतासम्म पुगिन्थ्यो। अहिले अनलाइन मुख्य माध्यम भएको छ। अडिओभन्दा भिडिओबाट गीत दर्शक-स्रोतासम्म पुगिरहेको छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जाल, युट्युब र टिकटकलाई नकारेर जाने अवस्था छैन।’ उनका अनुसार सुन बाटुली सुरूमा टिकटकमा प्रचार गरिएको थिएन। त्यसअघि गीत सुस्त चलिरहेको थियो।

‘जब टिकटकमा औपचारिक प्रचार गर्न थालियो, त्यहीँबाट युट्युबमा गीत हेर्नेहरू बढे। सोचेभन्दा चाँडै धेरैको नजरमा पर्‍यो। यसपटक गीत प्रमोसनका लागि अनलाइन मार्केटिङ चाहिने रहेछ भन्ने महसुस गरेँ,’ उनले भने, ‘अहिले सर्जक र स्रोताबीचको सम्बन्ध पहिलाभन्दा धेरै अन्तक्रिर्यात्मक भएको छ। कुनै पनि सर्जकका लागि यो रमाइलो पक्ष हो।’

भ्युज वा ट्रेन्डिङको प्रतीकात्मक अर्थ भए पनि यही नै सफलताको मापन भने नभएको उनी बताउँछन्। गीत- संगीतबाट सर्जकले दिने योगदान वा पार्ने प्रभाव नाप्न गाह्रो हुने उनको भनाइ छ। पहिलो गीत ‘चाहना सकियो’ देखि ‘सुन बाटुली’ सम्म आउँदा कालीप्रसादका गीत–संगीतले निरन्तर स्रोता पाइरहनु उनको सफलता हो। यो सफलता विवादरहित भने छैन।

बेलाबेला उनलाई गीतको धुन ‘चोरी गरेको’ आरोप लागेको छ। सुन बाटुलीलाई पनि कतिले हिन्दी फिल्म ‘दिल्ली ६’ को एआर रहमानको संगीतमा बनेको ‘गेन्दा फूल’ गीतसँग मिलेको भनेर टिप्पणी गरेका छन्।

आरोपबारे कालीप्रसाद भन्छन्, ‘जुनसुकै देशको संगीत भए पनि हामीले सुन्ने कतिपय लय र ताल उस्तैउस्तै सुनिन्छ। फरक विधा र शैलीका संगीत फ्युजन गर्दा केही कुरा मिलेजस्तो लागेको हुन सक्छ। काम गरेपछि ताली र गाली दुवै सुन्नुपर्ने रहेछ। सुरूमा नराम्रो लाग्थ्यो, अहिले सबै खाले प्रतिक्रियालाई प्रेरणाका रूपमा लिएको छु।’

#setopati

यिनिहरू पढ्न छुटे की ?