होम » ओमिक्रोन’ भेरियन्ट पुष्टि भएसँगै सबैको चिन्ता : के फेरि ‘लकडाउन’ हुन्छ ?

ओमिक्रोन’ भेरियन्ट पुष्टि भएसँगै सबैको चिन्ता : के फेरि ‘लकडाउन’ हुन्छ ?

by नागरिक टुडे

मङ्सिर ३ मा दक्षिण अफ्रिकाबाट काठमाडौँ आएका दुई जनामा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । यसअघि देखिएको ‘डेल्टा’ भेरियन्टभन्दा सङ्क्रामक मानिएको ओमिक्रोन देखिएसँगै सर्वसाधारणले फेरि ‘लकडाउन त हुँदैन ?’ भनेर चिन्ता गर्न थालेका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रणको योजना बनाउने र मन्त्रिपरिषद्लाई सिफारिस गर्ने अधिकारप्राप्त निकाय हो, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) । सो केन्द्रकी प्रवक्ता (सह सचिव) सुनिता नेपालले लकडाउनमा जानेभन्दा पनि सुरुवातमा स्वास्थ्य मापदण्ड अपनाएर आफैँ सतर्क हुने निर्णय गरेको बताइन् । सह सचिव नेपालले भनिन्–‘सम्बन्धित मन्त्रालय र स्थानीय निकायले पहिलेकै स्वास्थ्य मापदण्डको आधारमा सुरक्षा सतर्कताको तयारी गरिरहेका छन्, मुलुक बाहिरबाट आउनेलाई क्वारेन्टिनको व्यवस्था गरेका छौँ ।’

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका यसअघिका प्रमुख सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । सचिव रामप्रसाद थपलियालाई केन्द्र प्रमुखको जिम्मेवारी दिने तयारी गरिएको प्रधानमन्त्री कार्यालयका एक जना उच्च अधिकृतले  बताए ।

नाकामा हेल्थ डेस्कहरूलाई क्रियाशील बनाउने र बाहिरबाट आएकाहरूलाई कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्ने निर्णय सीसीएमसीसीले गरेको छ । बिरामी भएकाहरूलाई टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएमा नयाँ भेरियन्ट हो कि, होइन भनेर स्वास्थ्य मन्त्रालयले जिन सिक्वेन्सिङ गरिरहेको छ ।

रातोपाटी

यिनिहरू पढ्न छुटे की ?