होम » ‘बजार घट्यो भनेर आत्तिएर नबेचौँ, शेयर किन्ने उत्तम समय यही हो ।’
Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

‘बजार घट्यो भनेर आत्तिएर नबेचौँ, शेयर किन्ने उत्तम समय यही हो ।’

by नागरिक टुडे

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा शेयर धितोमा एउटा बैंकबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसको संशोधन गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताहरूले विरोध गरे । मौद्रिक नीतिको समीक्षा मार्फत यो व्यवस्थाको संशोधन गर्नुपर्ने लगानीकर्ताहरूको माग थियो । तर, राष्ट्र बैंकले यसबारे कुनै संशोधन गरेन । जसको असर आइतबार शेयर बजारमा देखिएको छ । यो व्यवस्थाको संशोधन नभएका कारण शेयर बजारमा उच्च गिरावट आएको लगानीकर्ता बताउँछन् ।

मौद्रिक नीतिमा शेयर मार्जिन लोन ४/१२ को नीति संशोधन नभएका कारण आइतबार शेयर बजारमा उच्च गिरावट आएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताए । उनले भने, ‘मौद्रिक नीतिले ल्याएको शेयर मार्जिन लोनको सीमालाई समीक्षा मार्फत संशोधन गर्नु पर्छ भन्ने हाम्रो माग थियो । तर, यो संशोधन भएन । जसका कारण लगानीकर्ताहरू आत्तिए । यसको असरले गर्दा आइतबार बजार घट्यो ।’

तर, उनी ४/१२ को नीति अब बजारले पचाएर एउटा नयाँ गन्तव्य लिनेमा विश्वस्त छन् । उनी भन्छन्, ‘अहिले लगानीकर्ता आत्तिएकाले बजार घटेको मात्र हो । तर, अब बजार रिकभर हुन्छ । शेयर मार्जिन लोनको कुरामा अब लगानीकर्ताहरू क्लियर भए । यो विषय अब बजारले पचाएर आफ्नो नयाँ गन्तव्य लिन्छ ।’

साथै, रौनियारका अनुसार बजार घटेको बेलामा लगानीकर्ताहरू धेरै नै आत्तिएर शेयर बेच्ने गरेका छन् । यस्तो बेला आत्तिने भन्दा पनि पैसा हुनेहरूले लगानी गर्ने हो । ‘यो समय भनेको लाभांश बोनस खाने हो । अब केही दिन बजार घट्यो भने पनि त्यसपछि बजार बढ्छ । उनले भने, ‘एक दुई दिन लगानीकर्ता डराएर बजार घट्न सक्छ । तर, केही दिनपछि बजार उकालो लाग्छ । घटेको बेलामा आत्तिने भन्दा पनि लगानी गर्ने हो ।’

त्यस्तै, यो समय शेयर किन्ने समय रहेको समेत उनले बताए । उनले भने, ‘अन्य देशहरूको तुलनामा हाम्रोमा उल्टो नीति छ । अन्य देशहरूमा बजार रातो हुँदा किन्छन् । हरियो हुँदा बेच्छन् तर, हाम्रोमा रातोमा आत्तिएर बेच्ने अनि हरियो भयो भने किन्ने गर्छन् । यो गलत हो । अहिले बजार घटिरहेको छ । यो समय पैसा हुनेले लगानी गर्नुहोस् ।’

यिनिहरू पढ्न छुटे की ?