होम » सुशान्तमाथि प्रहरीको दुर्व्यवहार प्रकरण : भएको के हो ?

सुशान्तमाथि प्रहरीको दुर्व्यवहार प्रकरण : भएको के हो ?

by नागरिक टुडे

डान्सर सुशान्त खत्री सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत लाइभमा आए । प्रहरीलाई केही कुरा भन्न चाहेको भन्दै लाइभ आएका खत्रीले आफूलाई प्रहरीले बिना कसुर नियन्त्रणमा लिएको र झापड हानेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा लाइभमा उनले भनेका छन्–‘ह्यालोविन नाइट थियो, हामी रमाइलो गरेर निस्कन लागेका थियौँ, प्रहरी आएर मलाई दुर्व्यवहार गरेर निकाल्यो ।’

काठमाडौँको ठमेल स्थित सिनेट क्लबमा सोमबार बिहान निस्कने क्रममा आफूलाई प्रहरीले दुर्व्यवहार गरेको सुशान्तको आरोप छ ।  क्लबमा बिल तिर्न बाँकी रहेको हुनाले आफू केही बेर अलमलिँदा दुर्व्यवहार भएको उनले बताएका छन् । क्लबमा झापड हानेर महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा लगेर थुनामा राखेको सुशान्तको आरोप छ ।

सन् २०१२ को भारतीय रियालिटी शोमा छनोट भएर उत्कृष्ट १० सम्म पुगेका सुशान्त पछिल्लो समयमा नेपालमा मात्र नभएर पनि चर्चित डान्सर हुन् । उनको नेपाल र भारतमा लाखौँ फ्यान छन् । प्रहरीले गरेको दुर्व्यवहारको बारे आफू चुप नलाग्ने उनको भनाइ छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले चाहिँ सुशान्तलाई दुर्व्यवहार नगरेको बताएका छन् । ठमेल क्षेत्रका क्लब सामान्यतया बिहान ४ बजे बन्द हुने भए पनि सुशान्त सिनेटमा बिहान ५ बजे भेटिएका थिए । क्लबमा सुशान्त र उनका साथीहरूबाहेक कोही ग्राहक नभएको र नियमित गस्तीका क्रममा उनलाई सोधपुछ मात्रै गरिएको डिएसपी दाहालले  बताए ।

क्लबका कर्मचारीले पटक पटक अनुरोध गर्दा पनि उनी क्लबबाट निस्किन नमानेको र बिल तिर्ने बहानामा क्लबमा बसिरहेको प्रहरले रातोपाटीलाई बतायो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख दुर्गा दाहालले पनि क्लब बन्द हुने समयमा पनि क्लबका कर्मचारीसँग बारम्बार रक्सी माग्दै बसेका खत्रीलाई सुरक्षाको दृष्टिकोणले नियन्त्रणमा लिएको  बताए । उनलाई पक्राउ गरेर मेडिकल परीक्षण गरेर हिरासतमा राखिएपनि हातपात र दुर्व्यवहार नगरेको प्रहरीको दावी छ ।

 ‘उहाँकै साथीले बिल तिरिसकेको अवस्थामा पनि वहाँ मादक पदार्थ सेवन गरेर बसिरहनु भएको थियो । मेडिकलमा पनि उहाँले अत्यधिक रक्सी सेवन गरेको पाइयो । त्यही भएर सुरक्षाको दृष्टिकोणले उहाँलाई नियन्त्रणमा लिएका हौँ’ डिएसपी दाहाल भन्छन्–‘सेलिब्रेटी भनेको अरुलाई मार्गदर्शन गर्ने व्यक्ति हुन्, सेलिब्रेटीलाई नियम र कानुन मिच्ने अधिकार छैन ।’

सुशान्त खत्रीले फेरि लेखे ‘एभ्रिथिङ इज क्लियर’

डान्सर खन्त्रीले फेरि सामाजिक सञ्जालमार्फत प्रहरीसँग सबैकुरा स्पष्ट भएको भन्दै सोह्रखुट्टे प्रहरी वृत्तलाई धन्यवाद दिएका छन् । उनले एउटा पोष्ट सेयर गर्दै लेखेका छन्, ‘एउटा गलत बुझाई भएको थियो । मैले सबै नेपाल प्रहरीलाई आरोप लगाउन खोजेको होइन । हिजो भएको घटनाको बारेमा मैले आफ्नो कथा सेयर गरेको मात्रै हो । धन्यवाद सोह्रखुट्टे प्रहरी वृत्त !’

रातोपाटीबाट

यिनिहरू पढ्न छुटे की ?