होम » जब श्रीमतीको हत्याका लागि विषालु कोब्रालाई बनाइयो हतियार

जब श्रीमतीको हत्याका लागि विषालु कोब्रालाई बनाइयो हतियार

by नागरिक टुडे

अघिल्लो हप्ता भारतको केरलका एक व्यक्तिलाई आफ्नी श्रीमतीलाई कोब्राले टोकाएर मारेका कारण दोहोरो आजीवन कारावासको सजाय तोकिएको छ । यस्तो सजाय भारतमा निकै दुर्लभ मानिन्छ । बीबीसी हिन्दीका संवाददाताले यो निकै भयानक हत्याकाण्डको कहानी यसरी प्रस्तुत गरेका छन् ।अघिल्लो वर्ष अप्रिलमा २८ वर्षीया सुरज कुमारले संसारको सबैभन्दा विषालु सर्पमध्ये एक, स्पेक्टेकल्ड कोब्रालाई ७ हजार भारुमा खरिद गरेका थिए ।

भारतमा सर्पको व्यापार अवैध हो, त्यसैले सुरजले दक्षिणी राज्य केरलका सर्प व्यापारी सुरेश कुमारसँग गोप्य रुपमा उक्त सर्प किने । सुरजले एउटा प्लास्टिकको भाँडोमा हावा प्रवाहका लागि एउटा प्वाल पारे, कोब्रालाई भित्र राखे र घर लिएर गए । १३ दिनपछि उनले उक्त भाँडोलाई एउटा ब्यागमा राखे र लगभग ४४ किलोमिटर टाढा आफ्नो ससुराली पुगे । त्यहाँ उनकी श्रीमती उत्तरलाई पहिला नै सर्पले टोकेको थियो र उनी निको हुने क्रममा थिइन् ।

जूसको गिलास र मृत्युः

सुरज र उत्तराको भेट दुई वर्षअघि एउटा मेट्रोमोनियल ब्रोकरमार्फत् भएको थियो । सुरजका पिता एक अटो रिक्सा चालक थिए र आमा एक गृहिणी ।उत्तरा, सुरजभन्दा तीन वर्ष कान्छी थिइन् र उनी लर्निङ डिसएबिलिटीद्वारा ग्रसित थिइन् जसमा मानिसलाई नयाँ कुरा सिक्न समस्या हुन्छ । उनी निकै सम्पन्न परिवारकी थिइन् । पिता एक रबर व्यापारी र आमा विद्यालयकी अवकाशप्राप्त प्रधानाध्यापक हुन् ।

यी दुईले विवाह गर्दा सुरजले उत्तराका आमा–बुवासँग ७६८ ग्राम सुन, एउटा सुजुकी सेडान र ४ लाख नगद दाइजो लिएका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुरजलाई उत्तराका आमा–बुवाले उनकी छोरीको हेरविचारका लागि ८ हजार भारु प्रति महिना दिने गरिन्थ्यो ।उत्तरालाई सर्पले पहिलो पटक टोक्दा उनी ५२ दिनसम्म अस्पताल बसिन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी माइती नै फर्किन् । उनलाई विषालु सर्प रसल वाइपरले टोकेको थियो । यसका कारण उनको खुट्टामा तीनवटा शल्यक्रिया गर्नुपरेको थियो ।

अनुसन्धानकर्ताका अनुसार जब उत्तराको स्वास्थ्यमा सुधार आइरहेको थियो तब ६ मेको राती सुरजले उनलाई एक गिलास फलफूलको जुस दिए जसमा उनले बेहोस हुने औषधी मिसाएका थिए । औषधीले असर गरेपछि उनी बेहोस भएपछि सुरजले कोब्रा भएको भाँडो निकाले र पाँच फिट लामो सर्पलाई सुतिरहेकी श्रीमतीमाथि खसालिदिए । तर सर्पले उनीमाथि हमला गरेन, उल्टै भाग्यो । सुरजले भागिरहेको सर्पलाई पुनः उठाए र उत्तरामाथि फ्याँकिदिए । तर सर्प पुनः चिप्लियो । सुरजले तेस्रो पटक कोसिस गरे । यतिबेला उनले कोब्राको गर्धन समातेर उत्तराको बायाँ हाततर्फ लिएर गए । रिसाएको कोब्राले उत्तरालाई टोक्यो । त्यसपछि उनले सर्पलाई एउटा दराजमा बन्द गरिदिए । सर्प रातभरी दराजभित्रै थुनियो ।

 अस्पतालले प्रहरीलाई गरे फोनः

पशु चिकित्सक मविश कुमार भन्छन्, ‘जबसम्म तपाईंले कोब्रालाई उक्साउनु हुन्नँ, तबसम्म कोब्राले टोक्दैनँ । सुरजले यसलाई समात्नुपर्यो र आफ्नी श्रीमतीलाई टोक्नका लागि बाध्य पार्नु पर्यो ।’ अनुसन्धानकर्ताका अनुसार सुरजले जूसको गिलास पखाले, सर्पलाई सम्हाल्नका लागि प्रयोग गरिएको लठ्ठी नष्ट गरे र आफ्नो मोबाइल फोनको कल डिटेल्स डिलिट गरे ।

उत्तराकी आमाले प्रहरीलाई दिएको जानकारी अनुसार बिहान उनी उत्तराको कोठामा पुग्दा छोरीलाई ओछ्यानमा नै देखिन् । ‘उनको मुख खुल्ला थियो र उनको बायाँ हात एकातिर झुण्डिरहेको थियो,’ उनकी आमाले भनिन् । उनका अनुसार कोठामा सुरज पनि थिए । मणिमेखला विजयनले आफ्ना ज्वाईंलाई ‘ऊ उठेकी छिन् कि छैनन् भनेर तिमीले किन हेरेनौ ?’ भनेर प्रश्न उठाइन् । सुरजले जवाफ दिए, ‘सुतिरहेका बेला उसलाई डिस्टर्ब नगरुँ भनेर हेरिनँ ।’

परिवारका सदस्यले उत्तरालाई अस्पताल लिएर गए जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए र उनलाई विष दिएर मारिएको बताए । अस्पतालले प्रहरीलाई फोन गर्यो । पास्टमार्टम रिपोर्टमा उनको बायाँ पाखुरामा दुई घाउ देखियो जुन एक इन्चभन्दा पनि कम दुरीमा थिए । रगत र विसराको नमूनामा कोब्राको विष र नशालु औषधीको उपस्थितिबारे पत्ता लाग्यो । कोब्राको विषयले सासका मांसपेशीलाई अपाङ्ग बनाएर घण्टौं पछि मार्न सक्छ । उत्तराका आमा–बुवाको ऊजुरीमा कारवाही गर्दै प्रहरीले २४ मेमा सुरजलाई आफ्नी श्रीमतीको असामान्य मृत्युको मामिलामा पक्राउ गरियो । ७८ दिनको अनुसन्धानपछि हजारभन्दा बढी पानाको आरोपपत्रसँगै ट्रायल सुरु भयो ।

उत्तरालाई दुईपटक सर्पलाई टोक्न लगाइयोः

पशु चिकित्सक र डाक्टरसहित ९० जनाभन्दा बढीले बयान दिए । अभियोजन पक्षले सुरजका कल रेकर्ड, इन्टरनेट हिस्ट्रि, घरको पछाडि बगौंचामा भेटिएको मृत कोब्रा, परिवारको कारमा नशालु पदार्थलगायतका प्रमाणले यो केसलाई बलियो बनायो । साथै, अनुसन्धानमा सुरजले एउटा नभई दुईवटा सर्प खरिद गरेको तथ्य पत्ता लाग्यो । अनुसन्धानकर्ताका अनुसार सुरजले रसेल सर्प पनि खरिद गरेका थिए जसलाई उत्तरालाई मृत्यु हुनु केही महिना अघि टोकेको थियो । सर्प व्यापारी सुरेशले दुईवटा सर्प सुरजलाई बेचेको स्वीकार गरे ।

पशु चिकित्सकले अदालतसमक्ष कुनै एउटा कोब्रा झ्यालबाट दम्पत्तिको बेडरुमसम्म पुग्ने सम्भावना निकै कम भएको बताए । सर्प व्यापारी, कोब्रा र डमीको मद्दतले यो पूरा घटनाक्रमलाई रिक्रिएट गरियो । माविश कुमार भन्छन्, ‘राती कोब्रा खासै सक्रिय हुँदैनन् । हरेक पटक जब हामी कोब्रालाई डमीमा खसालिरहेका थियौं, तब भुइँमा खस्ने गर्दथ्यो र कोठाको कुनै अँध्यारो कुनामा जान्थ्यो । जब हामीले कोब्रालाई उक्सायौं त्यतिबेला पनि उसले टोक्ने कोसिस गरेनँ ।’

त्यसपछि डाक्टरले कोब्राको गर्धन समातेर डमीको प्लास्टिकको हातबाट बाँधिएको कुखुराको मासुको एउटा टुक्रामा टोक्नका लागि उक्साएपछि बल्ल कोब्राले टोक्यो । उत्तराको पाखुरामा दुई घाउबीच जति दुरी थियो उक्त कुखुराको मासुमा टोकेको ठाउँमा पनि त्यति नै दुरी थियो । न्यायाधीश एम मनोजले यसबारे टिप्पणी गर्दै भने, ‘यो जघन्य हत्याको मामिला हो ।’ न्यायाधीशले सुरजलाई जन्मकैदको सजाय सुनाउँदै सुरजले उत्तरालाई मार्ने योजना बनाएको र यसलाई कोब्राले टोकेको कारण मृत्यु भएको रुपमा पेश गर्ने कोसिस गरिएको बताए ।

पछिल्लो एक वर्षदेखि श्रीमतीलाई मार्ने योजनाः

अनुसन्धानकर्ताका अनुसार चार महिनामा श्रीमतीलाई मार्ने यो सुरजको तेस्रो कोसिस थियो । स्थानीय बैंकमा कलेक्सन एजेन्टको रुपमा काम गर्ने सुरजको  भेट अघिल्लो वर्ष फेब्रुअरीमा सर्प समात्ने सुरेशसँग भएको थियो । उनले रसेल वाइपर १० हजार भारुमा खरिद गरेका थिए । त्यहाँबाट सर्पलाई प्लास्टिकको भाँडोमा घर ल्याए र लठ्ठीको थुप्रो मुनी लुकाए । २७ फेब्रुअरीमा सुरजले आफ्नो घरको पहिलो तलामा सर्प छोडिदिए । अनुसन्धानकर्ताका अनुसार उनले श्रीमतीलाई आफ्नो फोन ल्याउनका लागि माथि जान भने ।

उत्तराकी आमाले प्रहरीले दिएको जानकारी अनुसार उत्तराले भुइँमा सर्प देखेपछि चिच्याइन् । यो सुनेर सुरज माथि आए र लठ्ठीले सर्प उठाएर घरबाट बाहिर निकाले । २ मार्चको राती सुरजले पुनः कोसिस गरे । यसपटक उनले आफ्नी श्रीमतीको हलुवामा नशालु औषधी मिसाए र सुतिरहेका बेला वाइपरलाई बेडरुममा छोडिदिए । यसपटक सर्पले हमला गर्यो । उत्तरा चिच्याएर उठिन् । उनको खुट्टामा सर्पले टोकेको थियो । त्यसपछि सुरजले सर्पलाई झ्यालबाट बाहिर फ्याँकिदिए । उत्तराका पिता विजयसेनन विद्याधरन भन्छन्, ‘केरलमा सर्पले टोक्नु सामान्य हो । त्यसपछि हामीलाई कुनै गडबडीको आशंका भएन ।’ भारतमा हरेक वर्ष ६० हजार मानिसको सर्पले टोकेका कारण मृत्यु हुन्छ ।

आइसीयूृ भएको अस्पताल खोज्ने त्यो रात दुई घण्टाभन्दा बढी समय लाग्यो । उत्तराको शरीर सुन्निएको थियो र रक्तश्रावले पीडित थिइन् । तीन शल्यक्रियापश्चात्, उनी आराम गर्नका लागि कोल्लमस्थित आफ्नो माइती गएकी थिइन् । सुरज आफ्ना छोरा र आमा–बुवासँग पथानमथिट्टामा आफ्नो घरमा नै बसे र एकपटक पुनः श्रीमती मार्ने षड्यन्त्र रचे । अनुसन्धानकर्तामध्ये एक अनुप कृष्णाले भने, ‘जब उनकी श्रीमती अस्पतालमा थिइन् तब सुरज सर्पलाई सम्हाल्ने र सर्पका विष बारे थाहा पाउनका लागि इन्टरनेटको प्रयोग गर्ने गर्दथे ।’

अनुसन्धानकर्ताका अनुसार सुरजले सन् २०१९ मा नै आफ्नो छोरा ध्रुवको जन्मलगत्तै श्रीमतीको हत्या गर्नका लागि षड्यन्त्र रचिरहेका थिए । उनको इन्टरनेट हिस्ट्रीमा उनले विषालु सर्पबारे सर्च गरेको र युट्युबमा सर्पका भिडियो हेरेको पत्ता लाग्यो । यीमध्ये एउटा भिडियोमा रसेल वाइपर असाध्यै खतरनाक सर्प भएको बताइएको थियो । सुरजले कथित रुपमा आफ्ना साथीहरुलाई ‘उनकी श्रीमतीले सपनामा एउटा नागिनको श्राप पाएको र यसमा उनको मृत्यु सर्पले टोकेपछि नै हुने बताइएको’ भन्ने गर्दथे । अनुसन्धानकर्ताका अनुसार वास्तवमा सुरज आफ्नी श्रीमतीको हत्या गरेर, उनको पैसा चोरेर अन्य महिलासँग विवाह गर्न चाहन्थे । अनुसन्धानका प्रमुख प्रहरी अधिकारी अपुकुट्टन अशोकले भने, ‘सुरजले यसको सावधानीपूर्वक योजना बनाए र तेस्रो प्रयासमा सफल रहे ।’

रातोपाटीबाट

यिनिहरू पढ्न छुटे की ?