होम » चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने

चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने

by नागरिक टुडे

नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो । कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।

अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव चिन्ह ‘कलम’राख्न लागिएको हो ।  त्यसका लागि राईलाई समाजवादीको केन्द्रीय सदस्य बनाउने निर्णय बिहीबारै भैसकेको छ । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रक्रिया पुर्याएर शुक्रबारै निर्वाचन आयोग जाने तयारीमा लागेको जानकारी दिए । ‘सकेसम्म आजै निर्वाचन आयोग जाने तयारी हो, भ्याइएन भने आइतबारसम्म जान्छौ’, खतिवडाको भनाइ छ ।

निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जानुअघि पार्टी एकता गरेको संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ । ‘आयोग जानुअघि दुवै पक्ष (समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जीवन राई)को पार्टीका तर्फबाट संयुक्त वक्तव्य जारी गर्नुपर्ने हुन्छ । त्यसको ड्राफ्ट बनाउने काम भइरहेको छ’, राईले सोही अनुसार तयारी भैरहेको बताए । नेकपा एकीकृत समाजवादीले गत भदौ नौ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । त्यसबेला सो पार्टीले आफ्नो चिन्ह ‘किताब’ प्रस्ताव गरेर सोही आधारमा आयोगले  मान्यता दिएको थियो ।

यिनिहरू पढ्न छुटे की ?