होम » दरको पाकशास्त्र : कस्तो हुनुपर्छ दरको व्यञ्जन ?

दरको पाकशास्त्र : कस्तो हुनुपर्छ दरको व्यञ्जन ?

by नागरिक टुडे

नेपाली चेलीहरुले तीजको पूर्वसन्ध्यामा खाने दरसँग जोडिएका पनि अनेक रमाइला किस्साहरु छन् । तीजको अघिल्लो दिन दर खाने विभिन्न चरणहरु हुन्छन् । पहिले सामान्य खालको खाना खाने, दोस्रो चरणमा अलिकति मीठो मसिनो जस्तै, खिर जस्ता परिकार खाने र अन्तिममा विशेष खालको खाना खाने चलन पहिलेपहिले हुन्थ्यो ।

माइती आएका चेलीहरु घरपरिवारको दुःख सुख सुनाउँदै दर खाँदा कहिले भाले बास्ने त कहिले सूर्याेदय भएर मुख्य खानेकुरा खान नपाउँदा कसैले पछ्यौराले घाम छिर्ने झ्यालको प्वाल छोपेर दर खाएको त कसैले भालेलाई श्राप दिएको जस्ता रोचक प्रसंगहरु दरसँग जोडिएको किंवदन्तीमा सुन्न पाइन्छ ।

बुधबार नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्या अर्थात् दर खाने दिन हो । भोलिपल्टको निर्जला व्रतको पूर्वसन्ध्यामा शास्त्र र संस्कृतिद्वारा निर्देशिन केही पोषणयुक्त भोजन गरेर भोलिपल्टको व्रतको तयारीका लागि मध्यरातमा खाने परिकार नै दर हो । यो हिन्दु संस्कृतिमा तीजको अघिल्लो दिन मात्रै खाइन्छ ।

दर भनेको के हो ? नेपाली तिथिमितिको यकिन निर्णय गर्ने पञ्चांग निर्णायक विकास समितिका सदस्य सचिव सूर्य ढुंगेल भन्छन् ‘दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मान्छेको मानसिकतासँग जोडिएको विषय पनि हो । तीजको दिन महादेवको व्रत बस्दा भोको पेट भयो भने स्वाभाविक रुपमा उसको ध्यान भोजनतिर जाने भएकोले त्यही ध्यान भंग गराउनको लागि अघिल्लै दिन खाने पौष्टिकताले भरिपूर्ण भोजन नै दर हो । घरका महिला हुन् या पुरुष, सबै मिलेर दर खाँदा त्यहाँ एउटा उत्सव हुन्छ । त्यसैले यो पनि एक किसिमको पर्व पनि हो ।’

तीजलाई हरितालिका पनि भनिन्छ । हरित अर्थात् हरिएकी र आलि अर्थात् सति । हरिएकी सति अर्थात् पार्वतीले महादेव वर पाऊँ भनी व्रत बसेर सफल भएको भन्ने विश्वासका आधारमा यो पर्व मनाउने गरिन्छ । नेपाली समाजमा जति हरितालिका तीजलाई चर्चा र महत्व दिइन्छ उति दर खाने दिनको चर्चा हुँदैन । तर संस्कृतिविद् एवं धर्मशास्त्रका जानकारहरु भने तीज र दरखाने दिनको सुरुवात सँगसँगै भएको बताउँछन् । तर अहिलेको दर एउटा अवैज्ञानिक देखासिखीको शिकार भएको छ ।

तीजको ऐतिहासिकता खोज्दा यसको चर्चा पुराणकालमै भएको पाइन्छ । महादेव पति पाउँ भनी व्रत बसेकी पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन लागेपछि घरबाट भागेकी पार्वतीले बसेको व्रत नै तीजको व्रत हो र अघिल्लो दिन खाएको मिष्ठान्न भोजन नै दर हो भन्ने धर्मशास्त्रका जानकारहरुको मत छ । पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी तीज पर्वको उल्लेख स्कन्द पुराणमा रहेको बताउँछन् । जुन अनुमानित आठौं शताब्दीमा लेखिएको पुराण रहेको विद्वानहरुको अनुमान छ । त्यसपछि तिनै पुराणहरुको हवाला दिँदै व्रतराज भन्ने पुस्तकमा पनि तीजको ऐतिहासिकताको बारेमा उल्लेख छ । ती सबै पुस्तकमा दर खाने दिनलाई पर्वको रुपमा त उल्लेख गरिएको छैन यद्यपि ती ग्रन्थमा पनि दरको प्रसंग पाउन सकिने अध्यक्ष अधिकारीको कथन छ ।

दरको रुपमा मद्य र मदिराको विकृति

अहिले वास्तविक संस्कृति अनुसार दरको रुपमा के–के परिकार पकाइन्छ ? भन्ने कुरा धेरैलाई जानकारी हुन छाडेको छ । अहिलेको विकृतिले दरको रुपमा मांस र मदिरालाई समेत समेटेको छ । तर परम्परागत तीजको दरलाई हेर्ने हो भने यो मांस बर्जित र केवल दुग्ध पदार्थको बाहुल्यता रहेको खाना दरको रुपमा विशेष थियो ।

पोषणविद्हरु पोषण र मौलिकताको हिसाबले पनि मांस र मदिरा दरसँग मिसाउनु उपयुक्त नरहेको दाबी गर्छन् । पोषणविद् उमा कोइराला आफूहरुको पालामा मांस र मदिरा तीजको अघिल्लो दिन खानै बर्जित रहेको बताउँछिन् । यो अधिकांश पहाडी भेगमा अहिले पनि बर्जित छ, यसको पछि वैज्ञानिक कारण पनि छ । यसको कारण सुनाउँदै उनी भन्छिन् ‘पहिलो कुरा त पहाडी संस्कृति अनुसार व्रत बस्ने अघिल्लोदिन मांस सेवन बर्जित छ । दोस्रो कुरा भोलिपल्ट निर्जला व्रत बस्नेहरुको लागि दूधजन्य परिकारहरु खिर, कुरौनी आदि जति पोषिलो र भोलिपल्टसम्मको लागि ऊर्जा प्रदान गर्ने खालको हुन्छ, त्यति शक्ति मासुमा नपाइने भएकोले दरमा मासुको प्रयोग उचित पनि हुँदैन ।’

कतिबेला खाने दर ? के–के खाने ?

आखिर दर कतिबेला खाने ? यो विवादित कुरा हो । फरक फरक प्रसंगलाई टेकेर कसैले यो बिहान सूर्याेदयअघिसम्म खान हुने तर्क गर्छन् भने कसैले भाले बास्नुअघिसम्म खान हुने तर्क गर्छन् । कसैले मध्यरात अर्थात् १२ बजेपछि खान नहुने तर्क गर्छन् । यो प्रसंगमा समितिका सदस्य सचिव ढुंगेल भन्छन् ‘अनेक प्रसंगले जे कुरा गरेको भए पनि मध्यरात अर्थात् राति १२ बजेअघि नै दर खाइसक्नुपर्छ ।’

नेपालमा चन्द्रमासको दिन निर्धारण सूर्याेदयको आधारमा गरिन्छ । जसका कारण कतिपयले सूर्याेदयपूर्वसम्म दर खान हुन्छ भन्ने मान्यता राख्छन् । शास्त्रले जूठो, सूतक, रजस्वला आदि बार्ने सवालमा रात्रिलाई ३ भाग लगाउने, २ भाग अघिल्लो दिन र एक भाग भोलिपल्ट मानेर सोही अनुसार दिन निर्धारण गर्न भनेको छ । तर व्रतको लागि हो भने उषाकाल, ब्रह्ममुहूर्त आदिको आधारमा छुट्याउने गरिन्छ । दर खाने सवालमा भने अर्धरात्रि कालभन्दा पछि दर खानु शास्त्रसम्मत नरहेको ढुंगेल बताउँछन् ।

अरु व्रतमा किन खाइँदैन दर ?

तीजको व्रतमा मात्रै किन दर खाने ? प्रश्न आउन सक्छ, हिन्दुहरुको व्रत बस्ने अनेक पर्वहरु हुन्छन् तर अरुमा दर खाने चलन छैन । तर तीजमा मात्रै किन आयो दर खाने चलन ? फेरि सदस्य सचिव ढुंगेल भन्छन् ‘तीजको व्रत अरु व्रतको तुलनामा कट्टर हुन्छ । अर्काेतिर अरु व्रतको समयमा महिलाहरुले पानी फलफूल जस्ता खानेकुरा खाएर बस्छन् भने तीजको व्रतमा पानी पनि खानुहुँदैन भन्ने मान्यता छ । त्यस्तै, अरु व्रत बस्ने व्रतालुहरुले साँझ सूर्यास्तपछि विधिवत् पूजा गरेर व्रत टुंग्याउने गर्छन् । तर तीजको व्रतमा भोलिपल्ट पनि अगस्तीको पूजा गरेपछि मात्रै खाना खान पाइन्छ । यसरी तीजको व्रत अरु व्रतको तुलनामा कट्टर र फरक हुने भएकोले पनि दरको चलन यही एउटा व्रतमा मात्रै चलेको हो ।’

पोषणको हिसाबमा दरको परिकार

सामान्यतया दरको रुपमा खाने परिकार भनेको दूध हालेर तयार पारिएको ढकनी, चाम्रे, कुरौंनी आदि हुन् । कसैले खिर खान्छन् भने कसैले ढकनी र चाम्रे खाने गर्छन् । पोषणविद् कोइराला भन्छिन् ‘परापूर्वकालदेखि दरको रुपमा जे खानेकुरा खाइन्थ्यो ती खानेकुराहरु अहिले पनि महिलाहरुको लागि एक्सपेन्सिभ र लक्जरियस खानेकुरामा गनिन्छ । जुन वैज्ञानिक हिसाबले पेटको स्वास्थ्यलाई ध्यान दिएर तयार पारिएका परिकारहरु हुन् । जस्तो सुरुमा घिउ र दूधको परिकार खाइन्छ, त्यसले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्ने भएकोले अन्तिममा दही खाएर पाचन प्रक्रिया सवल बनाउने गरिन्छ । जुन घिउ र दूधबाट बनेको ढकनी लगायतका खानेकुराहरु छन्, त्यसले सिंगै एकदिनभरका लागि मान्छेलाई तागत दिने शक्ति राख्छ त्यसैले पनि दरको रुपमा बढी दूधजन्य खानेकुरा खाने गरिएको पाइन्छ ।

साभार:onlinekhabar

यिनिहरू पढ्न छुटे की ?