होम » उत्तर कोरियाद्वारा चीनको भ्याक्सिन अस्विकार

उत्तर कोरियाद्वारा चीनको भ्याक्सिन अस्विकार

by नागरिक टुडे

उत्तर कोरियाले आफूलाई दिन लागेको लगभग ३० लाख कोभिड–१९ को भ्याक्सिन अरु कसैलाई दिन भनेको छ । संयुक्त राष्ट्रले यसबारे जानकारी दिएको हो ।संयुक्त राष्ट्रका एक प्रवक्ताले संसारका थुप्र्रै देश कोभिड महामारीले थलिएको र अन्तरराष्ट्रिय स्तरमा कोभिड भ्याक्सिनको कमी पनि भइरहेको बताए । यस्तो स्थितिमा उत्तर कोरियाले यस्तो बयान सार्वजनिक गरेको छ ।

यी भ्याक्सिन अन्तरराष्ट्रिय कोभ्याक्स कार्यक्रम अन्तर्गत उत्तर कोरियालाई दिन लागिएको थियो । यो चीनमा बनेको सिनोभ्याक भ्याक्सिन थियो। उत्तर कोरियामा कोभिडको स्थितिबारे कहिल्यै खासै स्पष्ट जानकारी प्राप्त भएन । उत्तर कोरियाले महामारीको सुरुवातदेखि नै कडा नीति अपनाएको दाबी गरेको छ । अघिल्लो वर्ष कोरोना महामारी सुरु भएसँगै आफ्नो सीमा बन्द गर्ने पहिलो देशमध्ये एक थियो उत्तर कोरिया ।

उत्तर कोरियाले भ्याक्सिन लिन अस्विकार गरेको यो पहिलो घटना होइन । यसअघि जुलाईमा सम्भावित दुष्प्रभावलाई उद्धृत गर्दै उत्तर कोरियाले एस्ट्राजेनेका भ्याक्सिनको लगभग दुई लाख डोज लिन अस्विकार गरेको थियो । रुसका विदेशमन्त्री सर्गेई लावरोवले जुलाईमा पत्रकार सम्मेलनमा रुसले थुप्रै पटक उत्तर कोरियालाई रुसमा बनेको स्पुतनिक भ्याक्सिनको आपूर्तिको प्रस्ताव गरिसकेको बताएका थिए ।

उत्तर कोरियाले कोभिड–१९ खोपको प्रभावमाथि पनि शंका जताएको छ । उत्तर कोरियाको सरकारी मिडिया धेरैजसो ती खबरलाई प्रमुखताका साथ छाप्ने गर्छन, जसमा अमेरिका वा युरोपमा भ्याक्सिनको नकारात्मक प्रभावको कुरा हुने गर्छ ।

 

यिनिहरू पढ्न छुटे की ?