होम » लन्डनमा महामारीपछिकै ठूलो सांस्कृतिक कार्यक्रम ‘नेपाली मेला’ आइतबार हुने

लन्डनमा महामारीपछिकै ठूलो सांस्कृतिक कार्यक्रम ‘नेपाली मेला’ आइतबार हुने

by नागरिक टुडे

आगामी आइतबार लन्डनस्थित केम्प्टनपार्क रेसकोर्समा १२ औं  नेपाली मेलाको आयोजना हुने भएको छ । तमुधिं यूकेको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा हुन लागेको नेपाली मेलामा गैर आवासीय नेपाली संघ यूकेको पनि सहभागिता रहेको छ । सन् २००९ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली मेला गतवर्ष भने कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रवासमा नेपाली धर्म, संस्कृति, परम्परा र रहनसहनलाई प्रतिनिधित्व गर्दै ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित उक्त मेलाको आयोजना गरिंदै आएको हो ।  कार्यक्रममा स्वदेशी तथा विदेशीको पनि बाक्लो उपस्थिती रहने गर्दछ । तर, यसपटक भने विगतमा जस्तो अन्य देशका कूटनीतिज्ञहरुको सहभागिता  नहुने आयोजकले जानकारी दिएको छ ।

मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्नेछन् । बिहान १० देखि साँझ ८ बजेसम्म हुने मेलामा सहभागी भएर नेपाली खानपान र नेपाली मौलिकतामा रमाउन सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई उपस्थित हुन  आयोजक संस्था तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले अपिल गरेका छन् । ‘सम्पूर्ण बेलायतवासी नेपालीहरुकै साझा कार्यक्रम नेपाली मेला नाफा कमाउने उद्देश्यले नभई ‘विदेशमा पनि नेपाली कला संस्कृति, रितिरिवाज, भेषभूषा, धर्म संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ‘ गुरुङले भने ।

मेलामा विभिन्न प्रकारका नेपाली खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विशेषगरी नेपाली मौलिक भेषभुषा देखि लिएर ग्रामिण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतो लगायतका विभिन्न सामग्रीहरुको पनि प्रदर्शन गरिनेछ । आर्थिक दृष्टिकोणले पनि निकै खर्चिलो मानिने नेपाली मेलाको अनुमानित खर्च तीस हजार पाउण्ड अर्थात करिब ५० लाख रुपैयाँ जति हुने मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले जानकारी दिए । आयोजक तमुधिं यूकेका तर्फबाट मेलाबारे जानकारी दिन आइतबार आफ्नै भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक गुरुङले नेपाली मेलाको तयारीबारे विस्तृत जानकारी दिएका हुन् ।  मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्कने विभिन्न झाँकी, नृत्य प्रस्तुत गर्नेछन् ।

उक्त मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एकहजार एकसय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ । प्रथम हुनेलाई अतिरिक्त ३ सय पाउन्डको ‘एनआरएनए यूके कप’ समेत दिइनेछ । दोश्रो हुनेले ७ सय पाउण्ड एवं तेश्रो हुनेलाई ५ सय पाउण्ड नगद प्रदान गरिनेछ । त्यसैगरि झाँकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई ३०० पाउण्ड तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोश्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ । दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ । राफल ड्र प्रथम विजेतालाई एक तोला सुन, द्धितिय विजेतालाई ट्याबलेट र तृतीयालाई एकसय पाउण्ड नगद दिइने तमुधिं यूकेले जनाएको छ ।

तमुधिं यूकेद्वारा हरेक वर्ष गोर्खा कप र नेपाली मेला जस्ता दुईवटा इभेन्टको आयोजना हुने गर्दछ, जुन  नेपालीहरुको जमघट हुने सबैभन्दा ठूला इभेन्ट हुन् । विगतमा ८ देखि १० हजारसम्मको उपस्थिति हुने गरेको भएपनि अहिलेको परिस्थितिमा एक तिहाइको उपस्थिति भएपनि खर्च धान्न सकिने आयोजकले ठहर छ । सरकारले कोरोना महामारीका कारण लकडाउनसम्बन्धि  प्रतिबन्ध हटाएपनि मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न र कार्यक्रमको अघिल्लो दिन सम्भव भए सबैले एकपटक परीक्षण गराउन पनि आयोजकले आग्रह गरेको छ ।

यिनिहरू पढ्न छुटे की ?