होम » बिद्युत प्राधिकरणको उज्यालो र सफाइ सहर अभियान
File Photos: THT

बिद्युत प्राधिकरणको उज्यालो र सफाइ सहर अभियान

by नागरिक टुडे

नेपाल विद्युत प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ संचालन गर्ने भएको छ । उज्यालो सहर अभियान अन्तर्गत नगरपालिकासँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा स्मार्ट लाइट जडान गरिने प्राधिकरणले बताएको छ । यसबाट सहरको सौन्दर्य अभिबृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन । सफाइ अभियान अन्तर्गत मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने भनाई छ ।

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरी नै सञ्चालन गरिने छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्य योजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा यो भन्दा अघि नै गरेकी हुन ।

सोही बिषयलाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको हो । अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरु हटाउने कार्य सुरु गर्ने पनि प्राधिरकणले जनाएको छ । विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा कार्य सुरु भएको पनि प्राधिकरणले जनाएको छ । सहरलाई कुरुप बनाएका विभिन्न सेवा प्रदायकको तारको जालोलाई हटाएर प्राधिकरणले उसकै प्रणालीमा राख्ने पनि जनाएको छ ।
हाल भइरहेको जमिन माथिको वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुनेछ । सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ ।

प्राधिकरणले स्थानीय तहसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत स्थान र सडकलाई राति उज्यालो बनाउन स्मार्ट वत्ति जडान गर्न अभियान नै चलाउने पनि जनाएको छ । ललितपुर महानगरपालिकाको सकृय सहभागितामा पहिलोे चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ । डडेल्धुराको अमरगढी नगरपालिकाको मुुख्य सडकमा सडक वत्ति जडान कार्य सम्पन्न भैसकेको छ । भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक वत्ति जडानको कार्य जारी रहेको छ । काठमाडौ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक वत्ति जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा छ । उज्यालो सहर अभियान अन्तर्गत काठमाडौंको कोटेश्वर–भक्तपुर र कोटेश्वर–कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तीलाई हटाएर स्मार्ट लाइट जडान प्रकृया अगाडि बढिसकेको पनि प्राधिकरणले जनाएको छ ।

उज्यालो शहर बनाउने अभियानमा कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुर लगाएतका नगरपालिका रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरुसँग प्रस्ताव माग गरेको छ ।

नगरपालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुने छन । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । नगरपालिकाहरुले आफै शत्तिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले वोलपत्र प्रकृया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ । विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिका सँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन ।

यिनिहरू पढ्न छुटे की ?