होम » सभामुखको च्याम्बरमा एमाले सांसदको घेराउ

सभामुखको च्याम्बरमा एमाले सांसदको घेराउ

by नागरिक टुडे

पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुखको च्याम्बरमा घेराउ गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दवाव दिँदै घेराउ गरेका हुन् । एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीले गरेको कारबाही अघि बढाउन दवाव दिन सभामुखको कार्यकक्ष घेराउ गरिएको रातोपाटीलाई जानकारी दिए । सभामुखको च्याम्बर घेराउ गर्नेमा बाँस्कोटासहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायत छन् ।

बिहीबार पनि एमालेले कारबाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सापकोटाको ध्यानाकर्षण गराएको थियो ।  एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका हुन् ।

यसअघि भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन । कारबाही गरिएको ब्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने संसदीय अभ्यास छ ।

यिनिहरू पढ्न छुटे की ?