होम » फिल्म क्षेत्र लोकतान्त्रिक क्षेत्र हो : राजेश हमाल

फिल्म क्षेत्र लोकतान्त्रिक क्षेत्र हो : राजेश हमाल

by नागरिक टुडे
अभिनेता राजेश हमालले फिल्म क्षेत्र अत्यन्त लोकतान्त्रिक क्षेत्र रहेको बताएका छन् । बिहीवार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित कान्तिपुर फिल्म एकेमेडीका विद्यार्थीले निर्माण गरेको सर्ट फिल्मको स्क्रिनिङ र ग्राजुयशन पूरा गरेका विद्यार्थीहरुको विदाई कार्यक्रममा बोल्दै उनले फिल्ममा जो कोही प्रवेश गर्न सक्ने भएकाले फिल्म क्षेत्र लोकतान्त्रिक क्षेत्र रहेको बताएका हुन् ।
‘फिल्म क्षेत्र लोकतान्त्रिक क्षेत्र हो । फिल्ममा प्रवेश गर्न जो पनि सक्छ । अभिनय, निर्देशन, निर्माण जसले पनि गर्न सक्छ तर टिकिरहन जो पनि सक्दैन । पूजी छ, चिनाजान छ भने सबैजना पहिलो फिल्ममा हिरो-हिरोइन बन्न सक्छन् । तर, पहिलो फिल्म नै दर्शकले स्वीकार गरेनन् भने त्यसपछि मरिहत्ते गरे पनि अगाडि बढ्न सकिन्न । त्यसैले यो लोकतान्त्रिक क्षेत्र हो,’ हमालले भने । सिर्जनामा लागेको व्यक्तिले आफ्नो पक्षको बारेमा मात्र सोच्न नहुने उनको कथन छ । आफूले पस्किने व्यक्तिको दृष्टिकोणबाट पनि आफ्नो सिर्जनाहरु पस्कन उनी सुझाउँछन् । राजेश हमाल अगाडि भन्छन्, ‘फिल्म हेर्ने व्यक्तिको स्वाद के हो, चाहना के हो, समाज कता बगिरहेको छ, कस्तो किसिमको मनोरञ्जन रुचाउँछ भन्ने कुरा एउटा सिर्जनशिल व्यक्तिले गम्भीर भएर सोच्नु पर्छ ।’
फिल्मका विभिन्न विधामा अध्ययन गरेका विद्यार्थीहरुलाई अभिनेता हमालले फिल्म क्षेत्रमा कार्यरत हुनका लागि हरदम चुनौतीको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका छन् । फिल्ममा काम गरुन्जेल हर पल, हर कदम, हर खुड्किलामा चुनौतीको सामना गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई छ । फिल्म क्षेत्रले अत्यन्त ठूलो त्याग, धौर्यता, मिहेनत र आत्मविश्वास पनि माग्ने उनले बताए ।
फिल्ममेकर बन्न आफूले पस्कने सामाग्री आफ्नै फ्लेवरको हुनपर्ने उनी बताउँछन् । अरुबाट प्रेरित भए पनि आफ्नो यूनिकनेस पस्कने खुबी फिल्ममेकरमा हुन आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘जहाँ यूनिकनेस छ त्यहीँँ सिर्जनाको कदर हुन्छ । जसले आफ्नो व्यक्तित्व, विचार र यूनिकनेस झल्काउन सक्छ, दर्शकले त्यो किन मन पराए भन्ने थाहा नपाए पनि मन पराइदिन्छ ।’
राजेश हमालले कोरोना महामारीले विश्वको फिल्म उद्योगले नै अकल्पनीय परिस्थितिको सामना गरेको भए पनि हतोत्साहित हुन नहुने बताएका छन् । संसारमा मानवजाती रहेसम्म फिल्म मेकिङ, न्यारेसन र कथा हेर्नका लागि व्यक्ति तत्पर भइरहने उनले बताए । प्रविधिले ठूलो फड्को मारेकाले अहिलेको पुस्तालाई फिल्ममा अगाडि बढ्न एकदमै चुनौती रहेको उनको भनाई छ।

यिनिहरू पढ्न छुटे की ?