होम » फेरि महँगिन थाल्यो खाने तेल

फेरि महँगिन थाल्यो खाने तेल

by नागरिक टुडे

द्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए ।

‘तोरी, सनफ्वालर र भटमास सबैको मूल्य एकाएक बढेको छ, बढ्नुको कारण उद्योगीले भनेका छैनन्, अझै मूल्य बढ्ने बताएका छन,’ अधिकारीले भने । गत वर्ष मंसिरदेखि झण्डै दोब्बर मूल्यले बेढेको खानेको भाउ केही समय अघि घटेको भन्दै उद्योगीहरुले प्रचार गरेका थिए । झण्डै एक महिनाजति घटेको जस्तो देखिएको तेलको भाउ पुनः बढेको संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बताए । केही समय घटेको प्रचार गरिएको तेलको भाउ पुनः पुरानै अवस्थामा पुर्‍याइएको बज्राचार्यको भनाइ छ ।

‘तेलको भाउ प्रतिलिटर २३५ सम्म आइपुगेको थियो, तर पुनः २६५ रुपैयाँकै अवस्थामा पुगेको छ तेलको भाउ अस्वभाविक र अनियन्त्रित देखिन्छ,’ उनले भने । घटाएको जस्तो बहाना बनाएर उद्योगीले पुनः उपभोक्तालाई तेलको मूल्यमा अन्याय गरेको बज्राचार्यको आरोप छ । साना खुद्रा व्यवसायीलाई अनुगमन गरेर डाम्ने तर उद्योगीहरुलाई राजनीतिक संरक्षण मिलेकोप्रति उनले असन्तुष्टि जनाए ।

साउन २३ अघिसम्म प्रतिलिटर २२५ रुपैयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको भाउ मंगलबारसम्म आइपुग्दा २४० रुपैयाँ पुगेको संघले जनाएको छ । यस्तै धारा तोरी र  भटमास तेलको मूल्य पनि बढेको छ । खाने तोरीको तेलको भाउ लिटरमा ३५ रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायीहरूले बताएका छन् ।

९ महिनामा दोब्बर वृद्धि

नेपाली बजारमा २०७७ कात्तिकमा भटमासको तेल प्रतिलिटर १३० देखि १४० रुपैयाँ र सूर्यमुखी तेल १६० रुपैयाँ प्रतिलिटरमा बिक्री भएको थियो । तर २०७८ असारसम्म आइपुग्दा तेलको भाउमा अचाक्ली वृद्धि देखियो ।

असार तेस्रो साता नेपाली बजारमा भटमासको तेलको प्रतिलिटर मूल्य २२० देखि २३५ रुपैयाँ पुगेको नेपाल खुद्रा ब्यापार संघको तथ्यङ्कमा देखिन्छ ।यस्तै १४० रुपैयाँको सूर्यमुखी तेलेको मूल्य लिटरमै तीन सय रुपैयाँ पुग्यो । तोरीको तेलको मूल्य पनि लिटरमा ५० रुपैयाँ भन्दा बढीले बढेर ३३० रुपैयाँ नाघ्यो ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघमा २० वटा तेल उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरु आवद्ध छन् । तर, कुनै पनि उद्योगीहरु तेलको भाउ बढेको वा घटेकोबारे सार्वजनिक रुपमा बोल्न चाहँदैनन् ।नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालले तेलको भाउ आफूहरुको कारण नबढेको बताए ।  ‘तेलको भाउ घट्छ र बढ्छ, यो अन्तराष्ट्रिय कारण हो यसमा हाम्रो कुनै हात छैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय कारण के के हुन ? भन्ने प्रश्नमा भने उनले थप बोल्न चाहेनन् ।क्यानडा, युक्रेन इण्डोनेसिया लगायतको मुलुकबाट कच्चा पदार्थ ल्याएर नेपाली उद्योगीहरुले प्रशोधन गर्दै तेलको बिक्री गरिरहेका छन् । ती मुलुकबाट भारतमा आयात हुन नपाउने तर साफ्टा सुविधामा नेपालबाट भारतमा तेल निर्यात गर्न पाइने भएपछि यो व्यवसाय अहिले निकै फष्टाएको छ । गत आवमा मात्रै नेपालबाट ५३ अर्ब ६५ करोडको रुपैयाँ बराबरको भटमासको तेल भारत निर्यात भएको थियो ।

मौन अनुगमनकारी निकाय

एक वर्षको अवधिमा तेलको मूल्यवृद्धिबारे एक पटक अनुगमन गरेर दुई उद्योगलाई कारबाही गरेयता वाणिज्य विभागले थप अनुगमन गरेको छैन । नेपाल वनस्पति घिउ तेल उत्पादक संघमार्फत तेलको मूल्यमा निरन्तर भएको मूल्यबारे विवरण माग गरिएको विभागको एकोहोरो रटान छ । तेलको मूल्यबारे संघमार्फत जानकारी माग गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

‘मूल्यवृद्धिको गुनासो आएको छ, हामीले उद्योगीसँग विवरण मागेको छौं, तर आएको छैन,’ उनले भने । तेलको भाउ बढेकोबारे विभागले उपयुक्त अनुगमन र निर्णय गर्ने दावी सेढाईंको छ ।उपभोक्ताको गुनासो र बजारको समस्याअनुसार विभागमा अनुगमनका लागि जनशक्तिको अभाव भएको उनले बताए ।

साभार:onlinekhabar

यिनिहरू पढ्न छुटे की ?