होम » तीन बुँदे माग राखि स्वास्थ्य राज्यमन्त्रीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

तीन बुँदे माग राखि स्वास्थ्य राज्यमन्त्रीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

by नागरिक टुडे

कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनकर्मीहरूले सरकारसँग ३ बुँदे माग पेस गरेका छन्। उनीहरूले मंगलबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर मागपत्र बुझाएका हुन्।

पहिलो माग पर्यटनसहित सेवा क्षेत्रमा खटिएकाहरूलाई ३० दिनभित्र र बाँकी सबै नागरिकलाई छिटो भन्दा छिटो खोप उपलब्ध गराई सबै पर्यटन क्षेत्र खुला गर्नुपर्ने छ।  त्यसैगरि दोस्रो मागमा खोपको डोज पुरा गरेर नेपाल घुम्न चाहने विदेशीलाई  क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्नुका साथै त्रिभुवन विमानस्थललगायत पर्यटक प्रवेश विन्दुमै पिसिआर परीक्षण गरि पोजिटिभ रिपोर्ट आएकालाई मात्र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरिएको छ। पर्यटनकर्मीहरूको तेस्रो मागमा स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमनको व्यवस्था मिलाइनुपर्छ  भनिएको छ।

कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले फ्रन्टलाइनरलाई खोप लगाउन प्रयासरत रहेको र केही दिनभित्रै क्वारेन्टाइनको व्यवस्था हटाइने बताएका थिए।

‘आर्थिक रुपमा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै सम्बोधन गरिने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउनु भयो’, टे«किङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुबेदी भन्छन्, ‘पर्यटकीय गन्तव्यहरूलाई खुलाउन मन्त्रीज्यूले पहल गर्छु भन्नुभयो।’

आउँदो पर्यटकीय सिजन सेप्टेम्बर–अक्टोबरमा पनि पर्यटकीय क्षेत्र खुला भएनन भने पेशाबाट पलायन हुने पर्यटन व्यवसायी र मजदुरको संख्या बढ्दै जानेछ। यस्तो अबस्थामा पर्यटनबाट रोजगारी पाएका जनशक्ति सँगै सबैको लगानी खतरामा पर्नेमा सुबेदी चिन्तित छन्।

मन्त्रीसँग नाट्टाका अध्यक्ष अच्युत गुरागाइँले सिएमसीमा पर्यटन क्षेत्रका पदाधिकारीको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए। व्यवसायीहरू  सूचनाबाट टाढिनु परेको र गलत सूचनाको शिकार हुनुपरेकाले यस्तो माग गरिएको हो।

राज्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, होटल संघ नेपाल, ट्रेकिङ एजेन्जिस् एशोसियसन अफ नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एसोशियसन अफ राफ्टिङ एजेन्सिज्, नेपाल एसोशियसन अफ टुर अपरेटर्स, टुरिष्ट बस एसोशियसन अफ नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, हिमालयन उद्दार संघ, नेपाल पर्यटक यातायात व्यवसायी संघ, एक्सपिडिसन अपरेटर्स एसोशियसन नेपाल र पाटा नेपालका अगुवाले हस्ताक्षर गरेका छन्।

यिनिहरू पढ्न छुटे की ?