होम » अध्यादेशको चौतर्फी विरोध, देउवाको प्रतिरक्षामा बोल्ने कोही भएन

अध्यादेशको चौतर्फी विरोध, देउवाको प्रतिरक्षामा बोल्ने कोही भएन

by नागरिक टुडे

सरकारले मंगलबार ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश बुधबार बिहानसम्म राष्ट्रपति कार्यालय शीतलनिवासमा अड्किएर बसेको छ । देउवा सरकारले चालेको यो कदमको चौतर्फी विरोध भएको छ । सरकारी निर्णयको प्रतिरक्षामा कसैले पनि खुलेर बोल्न सकेको छैन । सरकार सर्वत्र आलोचनाको शिकार बनेको छ।

बुधबार बिहान प्रकाशित मूलधारका पत्रपत्रिकाले सम्पादकीय लेखेर  अध्यादेश ल्याउने सरकारी निर्णयको विरोध गरेका छन् । कान्तिपुर दैनिकले ‘फेरि उही अध्यादेशको आत्मघाती बाटो’ शीर्षकमा सम्पादकीय लेखेर सरकारी निर्णयको विरोध गरेको छ । नागरिक दैनिकले ‘अध्यादेशको अबाटो’ शीर्षकमा सम्पादकीय लेखेर अध्यादेश ल्याउने सरकारी निर्णयको विरोध गरेको छ ।

त्यसैगरी, मूलधारका अनलाइनहरुले सम्पादकीय एवं टिप्पणीका माध्यमबाट अध्यादेशप्रति आपत्ति जनाएका छन् । समग्र मिडिया देउवा सरकारको निर्णयको विपक्षमा उभिएको छ । कुनै पनि मिडियाले सरकारको निर्णय सही छ भनेका छैनन् ।

यिनिहरू पढ्न छुटे की ?