होम » प्रधानमन्त्री देउवा र जसपाको ठाकुर पक्षबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र जसपाको ठाकुर पक्षबीच भेटवार्ता

by नागरिक टुडे

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका महन्थ ठाकुरसहितका नेताबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सरकार सञ्चालन र जसपाले उठाउँदै आएका मागहरूबारे छलफल भएको बताइएको छ ।मंगलबार बिहान भएको भेटमा मधेस आन्दोलनका क्रममा उठेका संविधान संशोधन, बन्दी रिहाइ, मुद्दा खारेजी, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत विषयमा छलफल भएको लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जसपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएको कर्णले बताए । ‘हामीले उठाउँदै आएका कुरा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘हामीले भनेका संविधान संशोधन, बन्दी रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत विषयमा छलफल भएको छ ।’

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला जसपाको असन्तुष्ट पक्ष प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको हो । अध्यादेशका बारेमा छलफल भयो कि भएन भन्नेबारेमा कर्णले थपे, ‘कहाँ हामीलाई सहज हुने गरी अध्यादेश ल्याउँछ ? उहाँहरूको आफ्नै टाउको दुखेको छ । यस सम्बन्धमा थप केही कुरा भएन ।’पार्टी विवादबारे सर्वोच्चमा मुद्दा चलिरहेकाले अध्यादेशबारे थप कुराकानी नभएको कर्णको दाबी थियो ।

यिनिहरू पढ्न छुटे की ?