होम » अनमोल र सौगातपछि ‘एक्स ९’ मा थपिए राज

अनमोल र सौगातपछि ‘एक्स ९’ मा थपिए राज

by नागरिक टुडे
नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । गत हप्ता अभिनेता द्वय अनमोल केसी र सौगात मल्ल फिल्ममा अनुबन्ध भएसँगै निर्माण टिमले अरु कलाकारसँग पनि कागजी सम्झौताको प्रक्रियालाई अगाडि बढाएको छ । यसैक्रममा, सोमवार अर्का अभिनेता राज कटुवाल फिल्ममा आधिकारिक रुपमा भित्रिएका छन् ।
निर्देशक मुकुन्द भट्ट र राजबीच गत वर्ष नै मौखिक सहमति भइसकेको थियो । तर, कोरोना महामारीका कारण कागजी सम्झौता हुन सकेको थिएन । फिल्ममा राजको महत्त्वपूर्ण भूमिका रहने निर्देशक भट्टले बताए । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटीसँग नाम जोडिएपछि चर्चाको केन्द्रमा रहेका अभिनेता कटुवालले ‘लाल्टिन, लीला’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । यो फिल्ममा सबैभन्दा पहिला अभिनेता पुष्प खड्का अनुबन्ध भएका थिए । अब निर्माण टिम अनुपविक्रम शाहीसँग कागजी सम्झौता गर्ने तयारीमा छ ।
नेपाल, यूरोप, आबुधाबी र क्यानडामा खिचिने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । महंगो लागतमा निर्माण हुन लागेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्न पहल गरिने निर्देशक भट्टले बताएका छन् । फिल्ममा भिलेनको भूमिकाका लागि बलिउड अभिनेता सोनू सूदलाई अफर गर्ने तयारीमा निर्माण टिम छ । यसका लागि निर्देशकसहितको टोली केही दिनमै भारत प्रस्थान गर्दैछ ।

यिनिहरू पढ्न छुटे की ?