होम » क्यान्टिलिभर पुल प्रयोगविहीन

क्यान्टिलिभर पुल प्रयोगविहीन

by नागरिक टुडे

मनास्लु पदमार्ग अन्तर्गत यारुवगरको क्यान्टिलिभर पुल (भिर खोपेर बनाइएको पुल) प्रयोगविहीन बनेको छ । पुलसँग जोडिएको पहुँचमार्ग असार तेस्रो साता बुढीगण्डकी नदीले कटान गरेपछि क्यान्टिलिभर पुल बेकामे भएको हो ।क्यान्टिलिभर पुलसँगैको एकसय मिटर पदमार्ग कटानमा परेको छ । पुल भएको क्षेत्रमा पैदलयात्री बुढीगण्डकी बगर झरेर यात्रा थालेका छन् । पदमार्ग र पुल छुट्टिएपछि यारुवगरमा काठे भर्‍याङ राखेर दुइ सातादेखि स्थानीयले आउजाउ गर्दै आएका थिए । जोखिम बढेपछि काठे भर्‍याङ राखेको ठाउँमा भने ग्याविन भरेर खच्च्ड उक्लन मिल्ने बाटो बनाइएको यारुवगरका वेलबहादुर घलेले बताए ।

‘पहरामा अलग्गै क्यान्टिलिभर पुल झुन्डिएको छ, बाटो नभएर उक्लन नमिलेपछि पुलको अर्थ रहेन,’ उनले भने, ‘डोरीमा झुन्डिएर मात्र क्यान्टिलिभर चढ्न मिल्छ, जोखिम मोल्ने कुरा भएन । अहिले प्रयोगविहीन छ ।’ दुई सय ४० मिटर ग्याविन भरेर, ब्लास्ट गरेर वा ग्रिल राखेरमात्र पुलसँग जोडिने पहुँचमार्ग निर्माण गर्न सकिने स्थानीय बताउँछन् । बगरबाट क्यान्टिलिभर पुलसम्मको उचाइ करिव १० मिटरको छ । बाटो कटान गरेको ठाउँमा भिर देखिएको छ । यारुवगको पैदलमार्ग वुढीगण्डकीले कटान गरेपछि २०७२ वैशाख १२ को भूकम्पलगतै केही महिना आवतजावत ठप्प बनेको थियो । २०७३ जेठमा एक सय ९५ मिटर लम्बाइको क्यान्टिलिभर पुल प्रयोगमा आएसँगै उत्तरी गोरखाका स्थानीयलाई पैदलयात्रामा सहज भएको थियो । स्थानीय तहले पर्यटकीय दृष्टिकोणले पनि पुलको प्रचार गर्दै आएका थिए ।

तत्कालकालागि हिँड्न मिल्ने बाटो वनेपनि दीर्घकालीन रूपमा क्यान्टिलिभर पुलसँगै जोड्ने बाटो मर्मत गर्नैपर्ने धार्चे–१ का अध्यक्ष दिलिप गुरुङ बताउँछन् । ‘अहिले वुढीगण्डकीको वगर नझरी हिँड्न मिल्दैन, अहिले खोला सुकेको छ, सानो पानी परे खोलाको भर छैन,’ वडाध्यक्ष गुरुङले भने, ‘दुई सय ४० मिटर बाटो मर्मत गरे क्यान्टिलिभर पुल भएर हिँड्न मिल्छ तर मर्मतकालागि स्थानीय तहको वजेटले धान्दैन, करोडौ खर्च हुन्छ, प्रदेश र संघीय सरकारसँग पहल गर्नुपर्छ ।’

दुइ महिनादेखि पदमार्ग अवरुद्ध हुदाँ चुमनुव्री गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानी हुन नसकेपछि खच्चड उक्लन मिल्ने बाटो मर्मत गरिएको उनले बताए । झण्डै दुइसाता लगाएर ग्याविन वाल राखी बाटो मर्मत गरिएको हो । ‘काम गर्नेलाई ज्याला दिएका छैनौँ, ८ लाख खर्च भएको छ, प्रदेश सरकारसँग बजेट मागेका छौ,’ वडाध्यक्ष गुरुङले भने । चुमनुव्री र धार्चे गाउँपालिकाको पहलमा ग्याविन राखेर बाटो मर्मत गरिएको हो । बुढीगण्डकी बगरबाट पदमार्ग उक्लन मिल्ने बाटो मर्मतमा एक सय ७० पिस तारजाली प्रयोग भएको उनले बताए । ‘ग्याविन भरेपछि अब खच्चड हिँड्न मिल्छ,’ उनले भने ।

सडक सञ्जालमा नजोडिएको चुमनुव्रीमा खाद्य संकटको जोखिम बढेपछि अस्थायी रूपमा बाटो मर्मत गरिएको हो । उक्त क्षेत्रमा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि खच्चडको भर पर्नुपर्ने बाध्यता छ । दुई महिनादेखि पदमार्ग अवरुद्ध हुदाँ ३ सातायता माछाखोलाबाट खच्चडमा लगेको सामग्री यारुवगरमा पिठ्युँमा बोकेर स्थानीयले कटाएपछि माथिल्लो क्षेत्रमा खच्चडबाट ढुवानी हुँदै आएको थियो । बुढीगण्डकीले काटेको जगत खण्डको पदमार्ग भने मर्मत भइसकेको छ ।अवरुद्ध मनास्लु पदमार्ग तथा बाढीपहिराले क्षति पुर्‍याएको चुमनुव्रीमा भूगर्भविद्सहितको प्राविधिक टोलीले स्थलगत अवलोकन गरेको छ । बुधबार राष्ट्रिय विपद् न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको टोलिले ‘रेकिभिजिट’ (स्थलगत अध्ययन) गरेको हो । टोलीसमक्ष जनप्रतिनिधिले दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने खच्चड हिँड्ने बाटो जतिसक्दो मर्मत गरिदिन आग्रह गरे । पहिरो र बुढीगण्डकी कटानले अवरुद्ध पदमार्ग क्षेत्रको टोलीले निरीक्षण गरेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

यिनिहरू पढ्न छुटे की ?