होम » ‘द भ्वाइस अफ नेपाल ३’ले राख्यो रेकर्ड नै रेकर्ड

‘द भ्वाइस अफ नेपाल ३’ले राख्यो रेकर्ड नै रेकर्ड

by नागरिक टुडे

गत शनिबार मध्यरातमा नेपाली मुलका अमेरिकी नागरिक किरण गजमेरलाई विजेता घोषणा गर्दै देशकै नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ समापन भयो । ‘द भ्वाइस अफ नेपाल ३’को विजेता घोषणा गर्ने बेलामा रातको १२ बजिसकेको थियो । तर, यो समयसम्म पनि दर्शकले व्यग्र प्रतिक्षा भने गरिरहेका थिए । कार्यक्रम संचालक सुशिल नेपालले विजेता घोषणा गर्नु अगाडि युटुबमा यो शोलाई २ लाख ७७ हजार प्रत्यक्ष रुपमा हेरिरहेको जानकारी दिए ।

‘द भ्वाइस अफ नेपाल २’का फाइनललाई युटुबमा डेढ लाख भन्दा बढीले एकैचोटी हेरेका थिए । यसपटक, झन्डै दोश्रो सिजनको भन्दा दोब्बर बढीले एकैसाथ यो शो युटुबमा हेरे । यो नेपाली कार्यक्रम वा इभेन्ट्सको रियलटाइम भ्यूको नयाँ रेकर्ड हो । यो शोले नेपालको टेलिभिजन भ्यूअरसीपमा पनि नयाँ रेकर्ड राखेको टेलिभिजनले जनाएको छ । यो शोको फाइनललाई २४ घन्टा नपुग्दै ३० लाख भन्दा बढी पटक हेरिएको छ । यो पनि दैनिक भ्यूअरसीपमा नयाँ रेकर्ड नै हो ।

यो रियालिटी शोको हरेक भागको औषत भ्यूअरसीप ४० लाख भन्दा बढी रहेको बताइएको छ । टेलिभिजनमा पनि निक्कै ठूलो संख्यामा दर्शकले हेरेको यो शोमा पहिलो पटक नेपाली मुलका विदेशी नागरिकले उपाधि जितेका छन् । यस्तै, उत्कृष्ट ८ भित्र एक जना सिक्किम, एक जना दार्जिलिङ र एक जना अमेरिकाका गरी तिन जनाले प्रतिस्पर्धा गरेका थिए । यसलेपनि, विश्व बजारमा यो शोको लोकप्रियता र प्रभावकारिता कती छ भन्ने प्रष्ट हुन्छ ।

कोभिडको दोश्रो लहरका कारण विभिन्न वाधा अड्चन पनि शोले भोग्नु पर्यो । शोका ४ जना मध्ये ३ जना कोच कोभिडको चपेटमा परे । कोच दीप श्रेष्ठ करिब ३ साता अस्पतालमा उपचार गराएर फर्किएका थिए । यस्तै, प्रतिस्पर्धीहरु पनि कोभिडको संक्रमणमा परेका थिए । कोच नै संक्रमित भएपछि अतिथी कोच राखेर कार्यक्रम अगाडि बढाइएको थियो । विभिन्न वाधाका बाबजुत पनि यो शो सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाली टेलिभिजनमा रियालिटी शोको माग बढ्दै गएको र दर्शक पनि आकर्षित हुँदै गएको अवस्थामा यसपटक ‘द भ्वाइस अफ नेपाल’ले दर्शकको उल्लेख्य माया पाएको छ ।यो शोलाई लिएर सामाजिक संजालमा हुने गरेका बहस, दर्शकको चासो, सहभागीहरुको लोकप्रियता आदिले पनि यसको लोकप्रियता र गुणस्तरीयताको मापन गर्न सकिन्छ । नेपाली टेलिभिजनको इतिहासमै रेकर्ड नै रेकर्ड राखेर लोकप्रिय कार्यक्रम हुन सफल ‘द भ्वाइस अफ नेपाल’को अर्को सिजनको प्रतिक्षा दर्शकहरुले गर्न थालिसकेका छन् ।

साभार:onlinekhabar

यिनिहरू पढ्न छुटे की ?