होम » घरपरिवारभित्रै लैंगिक हिंसाबाट महिला असुरक्षित

घरपरिवारभित्रै लैंगिक हिंसाबाट महिला असुरक्षित

by नागरिक टुडे

प्रदेश-२ का महिला घर परिवारमै असुरक्षित छन् । महिला तथा घरेलु हिंसा, अपहेलना र शोषणको अवस्था हेर्दा तराई-मधेसमा महिला परिवार र आफन्तबाटै बढी असुरक्षित रहेको तथ्यांकले देखाएको छ ।

बुवा समेतका परिवारकै सदस्यको संलग्नतामा हत्या गरिएकी महोत्तरी लोहारपट्टी नगरपालिका भ्रमरपुराकी २७ बर्षीय सुजिता ठाकुरको शव असार २२ गते एक महिनापछि सेफ्टी ट्यांकीमा फेला पर्‍यो । यो घटना सेलाउन नपाउँदै धनुषामा एक महिलाको शव झुण्डिएको अवस्थामा भेटिएको छ । तराईका आठ जिल्लामा पछिल्लो समय हप्तैपिच्छे अपराधका घटना भइरहेका छन् । जसमा पीडक आफन्त वा नजिककै व्यक्ति रहेका बढी छन् । यी तथ्यले महिला घरपरिवारभित्रै असुरक्षित भएको देखाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेश-२ मा २०७७/०७८ मा महिला हिंसाका ६ सय ३७ वटा घटना दर्ता भएका छन् । महिला तथा बालबालिका सम्बन्धी अपराधका ६ सय १७, सामाजिक अपराधका १ हजार ८ सय ३२, संगठित तथा आर्थिक अपराधका १ हजार ५ सय ४३ र आत्महत्या सम्बन्धी ९ सय ५९ वटा घटना  भएका छन् । गत वर्षमा तीन सय ४० महिला बलात्कारको सिकार भए भने दुई जना महिलामाथि एसिड प्रहार भयो । मानव बेचबिखनको घटनामा १२, बहुविवाहका एक सय चार र बोक्सीको आरोपमा २३ जना महिला एक वर्षमा पीडित भएका छन् ।

प्रायजसो घटनामा परिवारकै सदस्यले बिभिन्न लाञ्छाना लगाएर महिलालाई पीडा दिएको पाइन्छ । घर परिवारबाटै प्रताडित भएपछि आत्महत्या गर्ने महिलाको संख्या बढ्दै गएको प्रहरी अनुसन्धानले नै देखाउँछ ।

महिला र बालबालिकामाथि हुने हिंसाका घटनामा प्रहरी अनुसन्धान पनि प्रभावकारी देखिएको छैन । प्रहरीको फितलो अनुसन्धान र न्यून सक्रियताका कारणले पनि हिंसाका घटनामा कमी नआएको अधिकारकर्मीको भनाइ छ । परिवार तथा आफन्तकै संलग्नतामा अपत्यारिलो किसिमले भइरहेका महिला हत्या र हिंसाका घटना न्यूनिकरण प्रतिदिन चुनौतीपूर्ण हुँदै गएको छ ।

यिनिहरू पढ्न छुटे की ?