होम » अनमोलपछि ‘एक्स ९’ मा सौगातको इन्ट्री

अनमोलपछि ‘एक्स ९’ मा सौगातको इन्ट्री

by नागरिक टुडे
मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । शनिवार निर्माण टिमले फिल्ममा अभिनेता अनमोल केसीलाई अनुबन्ध गरेको थियो । उनीसँगै फिल्ममा अर्का अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ । गत वर्षको लकडाउनअघि नै निर्माण टिमको उनीसँग मौखिक सहमति भए पनि कागजी सम्झौता आइतवार मात्र भएको हो ।
सौगातले तेस्रो पटक मुकुन्दसँँग काम गर्न लागेका हुन् । उनीहरुबीच ‘लप्पन छप्पन’ को दुई सिरिजमा सहकार्य भइसकेको छ । पहिलो पटक अनमोलसँग एकसाथ स्क्रिन शेयर गर्न लागेका सौगातले फिल्मको कथावस्तु र आफ्नो भूमिका मन परेकाले काम गर्न तयार भएको बताएका छन् । फिल्ममा उनी कस्तो भूमिकामा देखिनेछन्, यसबारेमा भने निर्माण टिमले जानकारी दिएको छैन ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । नेपालसँगै यूरोप, आबुधाबी र क्यानडामा छायांकन गरिने फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्न पनि पहल गरिने निर्देशक भट्टले बताएका छन् ।
मल्टीस्टारर फिल्म बनाउन रुचाउने मुकुन्दले ‘एक्स ९’ मा पनि चलेका कलाकारहरुलाई एकसाथ पर्दामा उतार्दैछन् । फिल्ममा अनमोल र सौगातसँगै पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, प्रियंका थापाको पनि अभिनय रहनेछ । कलाकारको लाइनअप हेर्दा फिल्मले बक्सअफिसमा आँधी ल्याउने देखिन्छ । यो फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर भनिएको छ ।

यिनिहरू पढ्न छुटे की ?