होम » सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रम : लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने

सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रम : लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने

by नागरिक टुडे

सरकारको साझा न्यूनतम कार्यक्रम र कार्यविधि तयार पार्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनका शीर्ष नेतालाई बुझाएको छ ।आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल साझा न्यूनतम कार्यक्रममा सहमत भएका हुन् ।

कार्यदलले तयार पारेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रारम्भिक मस्यौदामा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, तराई मधेसमा भएका विभिन्न आन्दोलनको बेला लगाइएका मुद्दाहरूको पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरूको रिहाइ गर्नेलगायतका विषय समेटिएका छन् । त्यस्तै सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको बृहत् शान्ति सम्झौता तथा मधेस आन्दोलनलगायत विभिन्न पक्षहरूसँग भएका सहमति र सम्झौताहरूको कार्यान्वयन गर्ने पनि साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगको ऐन संशोधन गर्ने र आयोगलाई आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराई शान्ति प्रक्रियाका बाँकी काम छिटै सम्पन्न गर्ने पनि कार्यदलले बुझाएको साझा कार्यक्रममा उल्लेख छ । सशस्त्र संघर्षका बेला गिरफ्तार गरिएका बन्दीहरूलाई ‘बृहत् शान्ति सम्झौताको भावनाअनुसार’ रिहा गर्ने पनि संयुक्त सरकार सञ्चालनका लागि तयार साझा न्यूनतम कार्यक्रममा उल्लेख छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि शीर्ष नेताहरूले छलफल गरी अन्तिम रूप दिनेछन् । गठबन्धनमा रहेका दलहरूले यसमाथि आ–आफ्नो पार्टीमा पनि छलफल गर्नेछन् । यसै प्रतिवेदनमाथि छलफल गर्न माओवादी केन्द्रले शुक्रबार दिउँसो ४ बजे स्थायी कमिटी बैठक बोलाइसकेको छ ।

यिनिहरू पढ्न छुटे की ?