होम » सडक बालबालिका

सडक बालबालिका

by नागरिक टुडे

 

बालबालिका को हुन् वा कुन उमेरसम्मको व्यक्तिलाई बालबालिका भनी परिभाषित गर्ने भन्ने बारेमा कुनै कार्य आधार छैन। प्रत्येक राज्यको कानुनले परिभाषित गरे अनुसार बालबालिकाको उमेर फरक-फरक पाइन्छ। बालबालिका भनेका जन्मेदेखि १८ वर्ष उमेर नपुग्दासम्मका व्यक्ति हुन्। बालबालिकाहरू शारीरिक एवम् मानसिक रूपमा परिपक्व नहुने हुँदा उनीहरूलाई विशेष हेरचाह र सुविधाहरूको आवश्यकता पर्दछ। यसका लागि उनीहरूलाई संरक्षण प्रदान गर्नुपर्दछ।

बाँच्नका लागि चाहिने आधारभूत कुराहरूको व्यवस्था गर्नु, शिक्षा प्रदान गर्नु, स्वास्थ्य सेवा प्रदान गर्नु, खेल मनोरञ्जन र आराम गर्न दिनु, माया स्नेह गर्नु, हेला दुर्र्व्यवहार र शोषण हुनबाट जोगाउनु पर्छ। माया, स्नेह, शान्ति, समझदारी र सुरक्षापूर्ण वातावरणभित्र असल शिक्षा हासिल गर्दै स्वस्थ भएर आफ्नो बालापन बिताउन पाउने प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो। बाल अधिकार भनेको बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनको विरुद्धमा संरक्षण गर्दै यिनीहरूको बालापन सुनिश्चित गर्नु हो। बालबालिकाहरूले स्वयं आफ्नो अधिकार आफै लिन नसक्ने हुनाले उनीहरूको अधिकारको संरक्षण गर्नु वयस्कहरूको अर्थात् हुर्र्किसकेका व्यक्तिहरूको दायित्व हो।

बालबालिकाले बाँच्न पाउने अधिकार विकास गर्न पाउने, संरक्षण पाउने र आफ्ना बारेमा हुने गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सहभागी हुन पाउने अधिकार हो। नेपालको सम्बन्धमा १६ वर्षभन्दा मुनिको उमेरलाई बालबालिका भनिन्छ।

नेपालले पछिल्लो समय सामाजिक सुरक्षाको अवधारणालाई विभिन्न कोणबाट लागू गर्दै छ । यसै सिलसिलामा बालबालिकालाई बाध्यात्मक अवस्थामा सडकमा आएर सहयोगको याचना गर्नुपर्ने कारणको खोजी, निदान तथा उपचारमा ध्यान दिइएको छ । घर नै मानिसको भर हो । त्यहाँ नै मानिसले माया र सुरक्षा पाउने गर्छ । स्नेह र सुरक्षाकै कारण मानिसले यायावर जीवन परित्याग गर्दै स्थायी बसोबास गर्नेक्रममा घर बनाएका थिए । घरभित्र प्राप्त हुने ‘हामी’ को भावनाले पनि परिवार बनाएको हो तर त्यही घर र परिवार छाडेर किन बालबालिकालगायत जुनसुकै उमेरका व्यक्ति सडकमा आउने गर्छन् । यसको उत्तर सोझो छ– घर–घरजस्तो भएन, परिवार परिवारजस्तो भएन तर किन घर घरजस्तो भएन र परिवार परिवारजस्तो भएन भन्ने प्रश्नको उत्तर त्यति सहज छैन । भाग्यवादले यसलाई भाग्य वा अभाग्यसँग जोडेर व्याख्या गर्छ तर सामाजिक विज्ञानले यस्ता समस्याको सामाजिक कारण र परिणाम हुन्छ भन्दै समाधान खोज्छ । ‘बालबालिका सडकमा बस्नुपर्दैन, सडकमा बस्नुहुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धारबाट कतिपय त्यस्ता बालबालिका परिवारमा पुनस्र्थापित भएका छन् भने एक हजार ११ जना सडक बालबालिकाले सुरक्षित आश्रय पाएका छन् । ‘सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन मार्गदर्शन–२०७२ अनुसार २०७३÷०७४ देखि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका सडक बालबालिकालाई उद्धार गर्न थालिएपछि अहिले सडकमा सहयोगको याचना गर्ने बालबालिकाको सङ्ख्यामा व्यापक कमी आएको छ । यस्तो अभियान र पहलको निरन्तरताबाट नेपालका बालबालिका सडकमा माग्न आउने छैनन् । सुन्दर र समृद्ध नेपालका लागि यसो हुनु आवश्यक पनि छ ।

किन सडक जान्छन् बालबालिका ?

आमाबाबुको काखमा हासीखुसी रहने र किताबकापी लिई विद्यालय जाने उमेरका यी केटाकेटी किन सडकमा प्रवेश गर्न बाध्य छन् – यी कुरा अभिभावक, परिवार, समाज, राष्ट्र एवम् सचेत नागरिकले गहिरिएर बुझ्नु आवश्यक छ। नेपालको सर्न्दर्भमा गरिएका विभिन्न अध्ययन-अनुसन्धानले बालबालिका सडकमा जाने, त्यही बस्ने, खाने, घर, परिवार, समाज छाड्नाको मुख्य कारण पारिवारिक हिंसा, साथीसंगत, आर्थिक विपन्नता, राजनीतिक अस्थिरता, सामाजिक, पारिवारिक विखण्डन, अशिक्षा, बसाइसराइ, द्वन्द्व आदि छन्। सिविनको सन् २०१६ को प्रतिवेदन अनुसार ४१ प्रतिशत बालबालिका पारिवारिक हिंसाका कारण, २७.१ प्रतिशत बालबालिका साथी संगतका कारण, १९.३ प्रतिशत परिवारको आर्थिक विपन्नताका कारण१५.९ प्रतिशत पारिवारिक विखण्डनका कारण र ३.७ प्रतिशत घरबाट भाग्नु नै अवसर हो भन्ने बालबालिका र ०.९ प्रतिशत द्वन्द्वबाट टाढा रहनका लागि सडकमा आएको बताइएको छ।

सडकमा बस्ने बालबालिकाको संख्यामा दिन प्रतिदिन बढ्नुको मुख्य कारण पारिवारिक हिंसा नै हो भन्ने कुरा सिविन नामक संस्थाको प्रतिवेदनमा उल्लेख भएको पाइएको छ। नेपाली समाजमा भएको अनुशासन हिनता, राजनीतिक अस्थिरता, अराजक स्थिति, वेरोजगारी, बसाइसराइ, बढ्दो सहरीकरण, बहुविवाह, अनमेल विवाह, अन्तरजातीय विवाह, विवाह पूर्वको यौनसर्म्पर्क, असफल प्रेम विवाह, दिन प्रतिदिन बढ्दै गएको सम्बन्धविच्छेदका कारण छोराछोरी क्षण-क्षण हिंसा र द्वन्द्वबाट पीडित बनी घर छाड्न बाध्य भएका छन्। बालबालिकाको घर छाड्ने अको कारण माया, ममता, स्नेह, सदभावना र कर्तव्यमा भन्दा पैसा र मनोरञ्जनमा रमाउने परिवार समुदायको संख्या वृद्धि हुनु, वैदेशिक रोजगारीबाट आएको पारिवारिक विखण्डन, आमाको मृत्यु, महिला हिंसा र तनावयुक्त अवस्थाले पनि छोराछोरीमा प्रत्यक्ष असर पनि छन्। यस्तै, अशिक्षा, अन्धविश्वास, समयसापेक्ष वैचारिक व्यवहारिक परिवर्तन आउन नसक्नु, बाल मनोविज्ञान बुझ्न नसक्नु, आर्थिक पीडा, अभिभावक अल्कोहल वा लागुपदार्थ दुर्व्यसनीमा पर्नु, परिवारको दायित्व बोध नगर्नुले बालबालिका घर छाडेर हिड्ने प्रवृत्ति बढेको पाइन्छ।

 

घर जान मन छ लगिदिनोस्' -सडक बालबालिका – Nepali news portal

 

 

 यसबाट पर्ने असर

सडकमा बालबालिका बढ्दै जानु भनेको संयम बालक, परिवार समाज र राष्ट्रका लागि पीडादायक अवस्था हो। सडकमा आश्रति बालबालिकाले पीडा र अप्ठ्यारो त भोगी नै रहेका छन्, यसका साथै असुरक्षा, खतरा एकतर्फ छ भने अनियमित जीवनको भविष्य अझै कहालीलाग्दो छ। मनोवैज्ञानिक रुपमा अनियन्त्रित रुपमा रहेको यी बालबालिकका मुख्य समस्या नै लागुपदार्थ दुर्व्यसनी हुने, डेन्ड्राइड लिने, धुमपान-मद्यपान गर्ने, मानसिक र शारीरिक हिंसामा क्षण नै क्षण पर्ने भएकाले समूह बनाएर हिड्ने, फोहरी अशोभनीय व्यवहार गर्ने, असामाजिक कार्यमा संलग्न हुने, पकेट मार्ने, चोर्ने, ठग्ने, झगडा गरेर गास बास र कपासका लागि संर्घष्ा गरिरहेको पाइन्छ। केही सडकबालिका यौन शोषणमा पर्ने गरेका वा यिनीहरूलाई प्रयोग गरीगैह्रकानुनी कार्य गर्ने गरेको पनि पाइन्छ। त्यसैले विभिन्न प्रकारका जटिल स्वास्थ्य समस्या भोग्नुका साथै आत्मसम्मान विना बाँच्न बाध्य छन्। यी बालबालिका फोहोरीपना र घृणित असामाजिक व्यवहारले सजाय भोगिरहेका र जीवन वर्वाद गरिरहेका छन्। यीमध्ये केही सडक बालबालिका खलासी हुने, पत्रपत्रिका बेच्ने, प्लाष्टिक बटुलेर बेच्ने, निर्माण कार्यमा सहयोग गरी जीवन निर्वाह गरिरहेको पनि पाइन्छ। अधिंकाशमा उपेक्षित वातावरणमा सधै रहनु पर्दा अपराधिक मानसिकताको विकास भई जीवन वर्वाद भएका अवस्था पनि छन्।

समाधानका उपायहरू

नेपालको अन्तरिम संविधान २०६३ को बालबालिकाको हकसम्बन्धी महलमा जोखिममा परेका सडक बालबालिकाको लागि भविष्य सुनिश्चित गर्न राज्यबाट विशेष सुविधा प्रदान गरिने कानुनी हक, अधिकार सुनिश्चित गरिएता पनि यस्ता बालबालिकाले शिक्षा, स्वास्थ्य, पोषण, गास, बास र कपास जस्ता आधारभूत अधिकार प्राप्त गर्नबाट वञ्चित नै देखिन्छन्। सिविन बालहितकारी परियोजना नेपाल, पोखरा नगर स्तरीय बाल संरक्षण समिति, मुस्कान क्लब जस्ता संघ, संस्थाले यस्ता बालबालिकालाई रात्री आवास सुविधा, स्वास्थ्य सेवा, मनोवैज्ञानिक परामर्श, तालिम, शिक्षा, खाना, कामको व्यवस्था, पारिवारिक, सामाजिक पुनर्मिलन, पुनस्र्थापना संरक्षण, सचेतना प्रदान गरिनु ज्यादै राम्रो कुरो हो। अझ यस्ता कार्यक्रम मनोवैज्ञानिक रुपमा परिवर्तन गर्ने किसिमले लैजानुपर्ने देखिन्छ।

तपाईँ हामीले नै कतै हाम्रा सन्ततिलाई आफैले सडकमा जानुपर्ने वातावरण सृजना त गरिरहेका छैनौं, गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ। यदि सरकारले जिम्मा लिन्छ आयआर्जन कार्य गराउँछ, समाज, अन्याय, अत्याचार र हिंसारहित बन्छ, परिवार द्वन्द्व कलहझै झगडा र विखण्डनबाट मुक्त हुन्छ, केटाकेटीहरू रमाइरमाइ खान, बस्न खेल्न र पढ्न घर, समाजमा नै पाउँछन् भने यो पुस माघको चिसोमा सडक पेटीमा सुत्न र मागेर खान सडकमा जान्छन होला र ? यसप्रति सबै सचेत होऔं। सन्तान जन्माउनु ठुलो कुरा होइन, उनीहरूको भविष्य निर्माण गरी दिनु राज्य र परिवारको दायित्व पनि असल अभिभावकको कर्तव्य हो।

यिनिहरू पढ्न छुटे की ?