होम » झलनाथ खनालः मिर्गौला खराब भएको कसरी थाहा पाउने? उपचार कसरी हुन्छ र कस्तो अवस्थामा प्रत्यारोपण गरिन्छ?

झलनाथ खनालः मिर्गौला खराब भएको कसरी थाहा पाउने? उपचार कसरी हुन्छ र कस्तो अवस्थामा प्रत्यारोपण गरिन्छ?

by नागरिक टुडे

भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्थामा सुधार आइरहेको उनको परिवारका एक सदस्यले बताएका छन्।

तर उनी सघन उपचार कक्षमा चिकित्सकीय निगरानीमा छन्। खनालको बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो।”उहाँको पाचनसम्बन्धी सबै प्रक्रिया र मापकहरू सबै सामान्य छन्,” छोरा निर्भिक चित्रकार खनालले भने, “अहिले इम्यूनोसप्रेसन्ट (प्रत्यारोपित अङ्गलाई शरीरले अस्वीकृत गर्न रोक्ने औषधि) प्रयोग गरिएका कारण आईसीयूमा राखिएको छ।”दिल्लीबाट बीबीसीसँग कुरा गर्दै उनले आफ्ना बुवालाई अझै १० दिन आईसीयूमा राखिने बताए।”उहाँले आजबाट नरम खानेकुरा खान पनि सुरु गर्नुभएको छ,” उनले भने।नेपालमा खनालको नियमति जाँच तथा उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार सङ्क्रमणको जोखिमका कारण खनाललाई अझै केही समय चिकित्सकीय निगरानीमा राखिन लागेको हो।खनाललाई ससुरालीतर्फका एक आफन्तले मिर्गौला दान गरेको भनिएको छ। तर ती व्यक्तिको परिचय खुलाइएको छैन।

झलनाथ खनाल

खनाल किन गए भारत?

डा. काफ्लेका अनुसार खनाललाई गत वर्षदेखि नै मिर्गौलाको समस्याले च्याप्दै लगेको थियो। केही समयअघि खनाललाई कोरोनाभाइरस सङ्क्रमण पनि भएको थियो।”उहाँलाई केही वर्षअघिबाटै मिर्गौलाको समस्या देखिएर औषधि खाँदै बस्नुभएको रहेछ। गत वर्ष कोभिडले च्यापेपछि झन्डैझन्डै डायालिसिस गर्नुपर्ने अवस्था आइसकेको थियो,” डा. काफ्लेले भने।

खनाललाई जेठ अन्तिममा पोस्ट-कोभिड सङ्क्रमणले गालेपछि विविध परीक्षणका लागि नमुना भारत पठाउनुपर्ने भएको र उतै उपचारका लागि जान चिकित्सकहरूले सल्लाह दिएको काफ्लेको भनाइ छ।थप उपचारका लागि असारमा नयाँ दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनालले त्यहीँ मिर्गौला प्रत्यारोपण गरेका हुन्।डा. काफ्लेका अनुसार खनालले प्रत्यारोपणपछिको नियमित जाँच भने नेपालमै गराउनेछन्।

मिर्गौला बिग्रिएको कसरी थाहा पाउने?

मिर्गौलाको समस्या बढ्दै गएपछि खान, बस्न र सुत्न समस्या देखिने गरे पनि लक्षण देखा परोस् पर्खेर बस्न नहुने मिर्गौला विशेषज्ञ डा. काफ्लेको सुझाव छ।”मिर्गौलामा हुने समस्याको लक्षण देखिँदासम्म यो अङ्ग धेरै बिग्रिसकेको हुन्छ। कतिपयको त डायालिसिस वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा पुगिसकेको हुन्छ,” काफ्ले भन्छन्।उनका अनुसार प्रत्येक वर्ष पिसाबमा प्रोटीन, रगतमा क्रीयाटनीन र शरीरको अल्ट्रासाउन्ड गर्दा मिर्गौलासम्बन्धी समस्याको समयमै पहिचान गरेर रोकथाम गर्न सकिन्छ।मधुमेह, उच्च रक्तचाप र दुखाइ कम गर्ने औषधि नियमित सेवन गर्ने सबै मानिसले मिर्गौलाको नियमित जाँच गर्नु बुद्धिमानी हुने डाक्टरहरू बताउँछन्।

यिनिहरू पढ्न छुटे की ?