होम » कश्मीर द्वन्द्व: भारतीय संविधानको धारा ३७० खारेजीपछि किन धेरै कश्मीरी युवा सशस्त्र विद्रोही बन्दैछन्?

कश्मीर द्वन्द्व: भारतीय संविधानको धारा ३७० खारेजीपछि किन धेरै कश्मीरी युवा सशस्त्र विद्रोही बन्दैछन्?

by नागरिक टुडे

भित्तामा लागेका रगतका छिटामा दृष्टि पर्नेबित्तिकै बशीर अहमद भटलाई भारत-प्रशासित कश्मीरमा प्रहरी सेवामा कार्यत आफ्ना भाइ मारिएको रातको याद आउँछ।

गत जुन महिनाको कुरा हो। सुत्ने तरखरमा रहेका बशीरले आफ्नो भाइको घरमा गोली चलेको आवाज सुने।उनी हतारहतार उठेर गोली चलेको स्थानतर्फ दौडिए। त्यहाँ हृदयविदारक दृश्य थियो।उनका भाइ घरको मूलढोकामै मृत थिए। बुहारी र भाइकी छोरी नजिकै रगतपच्छे अवस्थामा छटपटाइरहेका थिए। पछि उनीहरूले पनि प्राण त्यागे।”ढकमक्क फूल फुलेको मेरो बगैँचालाई ती गोलीले एकै मिनेटमा सखाप बनाइदिए,” बशीर भन्छन्, “उनीहरूको गल्ती के थियो? केही पनि थिएन।”प्रहरीका अनुसार सशस्त्र लडाकुहरूले बशीरको भाइ, बुहारी र भतिजीको हत्या गरेका हुन्।कश्मीर उपत्यकामा बशीरका भाइ फैयाज अहमद भट्‌जस्ता प्रहरी अधिकृतहरूलाई प्राय: तारो बनाउने गरिन्छ।

कश्मीरमा लामो समयदेखि स्थानीय सुरक्षा फौज र सशस्त्र विद्रोहीबीच सङ्घर्ष हुँदै आएको छ।”यी मानिसहरूलाई अर्को पक्षले प्रहरीको सुराकी वा सहयोगीका रूपमा हेर्छ,” दिल्लीमा रहेको एउटा थिङ्कट्याङ्क इन्स्टिट्यूट फर कन्फ्लिक्ट म्यानेज्मन्टका कार्यकारी निर्देशक अजय सहनी भन्छन्।”उनीहरू सधैँ खतरामा हुन्छन् र पहिलो निसानामा पर्छन्।”भारतले सन् २०१९ को अगस्ट ५ मा जम्मू तथा कश्मीरले पाउँदै आएको स्वायत्तता अन्त्य गर्दै संविधानको धारा ३७० खारेज गरिदिएको थियो।त्यस बेला प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भाजपाद्वारा नेतृत्व गरिएको सरकारले उक्त कदमपछि जम्मू तथा कश्मीर क्षेत्रमा स्थिरता र आर्थिक विकास हुने दाबी गरेको थियो।तर दुई वर्ष भइसक्दा पनि कश्मीर उपत्यकामा तनाव उस्तै छ।अधिकारीहरूका भनाइमा अहिले त्यहाँ अझ धेरै युवाहरू हिंसात्मक विद्रोहतर्फ झुकाव राख्न थालेका छन्।कश्मीरमा भारतीय शासनविरुद्ध सन् १९८९ देखि हिंसात्मक विद्रोह जारी छ।विज्ञहरू भन्छन्ः अचेल त्यस्तो विद्रोह आन्तरिक रूपमै विकास भइरहेको छ र त्यो भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रका लागि चिन्ताजनक विषय हो।

यिनिहरू पढ्न छुटे की ?