होम » ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

by नागरिक टुडे

बर्दियाको गेरूवा गाउँपालिका–१ मा रहेको ओखरिया इन्टेक अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ। ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरणका बारेमा प्रचारप्रसार भएपछि हिजोआज यस क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ।

कोठियाघाटस्थित कर्णाली गेरूवा नदी पार गरेर करिब एक किलोमिटर टाढा पर्ने रामजाने चोकदेखि उत्तर करिब २२ किलोमिटरको दूरीमा ओखरिया इन्टेक क्षेत्र पर्छ। राजापुर बजार क्षेत्रबाट पनि यहाँ पुग्न सकिन्छ। बिदाको समय र चाडपर्वका बेला यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गर्छ। चाडबाडको बेला वनभोज खाने र रमाइलो गर्नेको भीड नै हुने गरेको स्थानीयवासी बताउँछन्। त्यहाँको हरियाली र सुन्दरतालाई आफ्नो क्यामेरामा कैद गर्न पर्यटक तँछाडमछाड नै गर्छन्।

युवायुवती होस् वा जो कोही फोटो सेल्फी खिच्न व्यस्त हुन्छन्। इन्टेक क्षेत्रमा प्रायः चिसो हावा बहन्छ। हरियाली, शान्त वातावरणमा, चिसो हावा, खुला चौर यस क्षेत्रको मुख्य विशेषता हो। यहाँ राखिएको गैँडाको मूर्ति, रङ्गीन आराम बेञ्च, नहरको मुहान र कर्णाली नदीको दोभानले सबैको मन लोभ्याउने गर्छ। यहाँबाट कर्णाली चिसापानीको एक खम्बाको पुल पनि देखिन्छ।

यो क्षेत्र कर्णाली नदी र गेरुवा नदीको दोभानमा पर्छ। इन्टेकको दाहिने तर्फबाट गेरुवा नदी बगेको छ भने बाँयातर्फबाट कर्णाली नदी बगेको छ। इन्टेकको दाहिने क्षेत्र निकुञ्ज पर्छ। दुवैतर्फ नदी र जङ्गल भएकाले यो क्षेत्र निकै शान्त र सुन्दर छ। जिल्लाको अन्य क्षेत्रको तुलनामा यहाँ अलि बढी चिसो महसुस हुन्छ। नदी बगेको कलकल आवाज, निकुञ्जका वन्यजन्तु र चराको आवाजले यहाँ घुम्न आउने पर्यटक आकर्षित हुने गर्छन्। ओखरिया इन्टेक बस्तीभन्दा केही टाढा रहेकाले यहाँको वातावरण निकै शान्त, सफा र सुन्दर रहेको छ।

यिनिहरू पढ्न छुटे की ?