होम » आर्यन सिग्देल : ‘किस्मत’ ले चम्किएका नायक

आर्यन सिग्देल : ‘किस्मत’ ले चम्किएका नायक

by नागरिक टुडे
अभिनेता आर्यन सिग्देलको आगमन भन्दा अगाडि नेपालमा एक्सन फिल्मको हालीमुहाली थियो । लभस्टोरी फिल्म थोरै मात्र बन्थे । एकै शैलीका फिल्मले दर्शक समेत आजित भएका थिए । जब फिल्म ‘किस्मत’ बाट आर्यन सिग्देलले नायकको रुपमा सानदार डेब्यू गरे, त्यसपछि एक्सन फिल्मको यूग लगभग अन्त्य भयो । उनको प्रवेशसँगै लभस्टोरी फिल्म निर्माणमा बाढी आएको थियो ।
डेब्यू फिल्मबाटै स्टारको रुपमा उदाएका आर्यनले त्यसपछि डेढ दशक करिअर पछाडि फर्केर हेर्नु परेन । लभस्टोरी फिल्ममा निर्विकल्पझैँ थिए । युवापुस्तामा गजबको क्रेज थियो । उनको नामैले फिल्म चल्थ्यो । उनलाई फिल्ममा लिनका लागि निर्माताहरु महिनौंसम्म कुर्थे । जति पारिश्रमिक मागे पनि निर्माताले मोलमोलाइ गर्दैन थिए । त्यसबेला उनलाई ‘नम्बर वान नायक’ भनिन्थ्यो ।
फिल्म ‘मेरो एउटा साथी छ’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेका उनले आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्किएर पनि केही फिल्ममा काम गरेका छन् । तर, दर्शकले उनलाई हरर, कमेडी, एक्सनभन्दा लभस्टोरी फिल्ममै बढी रुचाए । ‘कसले चोर्‍यो मेरो मन’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘के यो माया हो’, ‘कोही मेरो’, ‘नाईं नभन्नू ल ३’ लगायत उनी अभिनीत यादगार फिल्म हुन् ।
उनै, आर्यन बिहीवारबाट ३७औं वर्षमा प्रवेश गरेका छन् । २०४१ साल साउन २१ गते काठमाडौं थानकोटमा जन्मिएका उनको नागरिकतामा भने जन्म मिति साउन ५ छ । उनको न्वारनको नाम हरिश सिग्देल हो । फिल्ममा प्रवेश गरेपछि उनले नाम परिवर्तन गरेर आर्यन राखेका थिए । फिल्ममा उनलाई यही नाम फाप्यो । दर्शकले उनलाई चकलेटी हिरोको रुपमा चिन्ने गरेका छन् ।
एक समय बक्सअफिसका हिट मेशिन भनिने आर्यन केही वर्षयता एउटा हिट फिल्मको पखाईमा छन् । आफ्नो खस्किँदो स्टारडम उकास्न उनले अभिनेत्री रेखा थापासँँगको दुश्मनी भुलेर फिल्म ‘रुद्रप्रिया’ मा एकसाथ काम गरे । आफ्नै लगानीमा फिल्म ‘कायरा’ बनाए । भिन्न भूमिकामा फिल्म ‘हजार जुनीसम्म’ मा अभिनय गरे । तर, उनलाई कसै गरी पनि सफलता मिल्न सकेको छैन ।
फिल्म ‘च च हुईं’ पछि पर्दामा नदेखिएका उनले निषेधाज्ञाभन्दा अगाडि फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन सकेका थिए । लगत्तै कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बन्न लागेको फिल्म ‘मिरर’ मा काम गर्ने तयारीमा थिए । तर, कोरोना भाइरसका कारण फिल्मको छायांकन सुरु हुन सकेन । उनी ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटासँग पनि एक फिल्ममा काम गर्दैछन् ।
३२ वर्षको उमेरमा आफूभन्दा ६ वर्ष कान्छी सपना भण्डारीसँग लगनगाँठो कसेका आर्यन एक छोराको पिता भइसकेका छन् । मध्यरातदेखि नै उनलाई शुभचिन्तक तथा फिल्मकर्मीले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । उनको जन्मदिनको अवसर पारेर बिहीवार दिउँसो उनी अभिनीत ‘जब’ बोलको म्यूजिक भिडियो यूट्युबमा सार्वजनिक हुँदैछ ।

यिनिहरू पढ्न छुटे की ?