होम » वसन्त ऋतुमा ४४ मुलुकका आरोहीले टेकेका थिए सगरमाथा चुचुरो, सबैभन्दा बढी नेपाली

वसन्त ऋतुमा ४४ मुलुकका आरोहीले टेकेका थिए सगरमाथा चुचुरो, सबैभन्दा बढी नेपाली

by नागरिक टुडे

गत वसन्त ऋतुमा कुल ४५९ जना आरोही/सहयोगीले सगरमाथाको चुचुरो चुमेका थिए । पर्यटन विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसरी सगरमाथा पुग्ने आरोहीहरु विभिन्न ४४ वटा मुलुकका थिए । यसमध्ये सबैभन्दा बढी आरोही नेपाली छन् । नेपाली आरोहीहरु भने सहयोगी आरोहीका रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । नेपालबाहेक विश्वभरका ४३ मुलुकका आरोहीले यो सिजनमा सगरमाथा चढेका हुन् । सो सिजन सगरमाथा चढ्न भने ४३ समूहका ४०८ आरोहीले अनुमति लिएका थिए ।

उनीहरुलाई सगरमाथाको चुचुरोसम्म लैजान थप त्यति नै संख्यामा नेपाली सहयोगी आरोहीहरु समेत खटिएका थिए । तर, सगरमाथाको सफल आरोहण गर्नेमा भने अनुमति प्राप्त आरोहीमध्ये १८२ जना मात्र रहेका थिए । अन्य आरोही भने सहयोगीका रुपमा हिमाल चढेका हुन् । सगरमाथा आरोहणमा यो वर्ष सफलता प्राप्त दर ५० प्रतिशतभन्दा पनि कम रहृयो । यसो हुनुमा सगरमाथा आरोहणका दौरान भएको मौसम परिवर्तन र भारतमा आएको आँधी थियो ।

नेपालीपछि अमेरिकी, चिनियाँ र भारतीय 

नेपालीपछि सगरमाथा चुचुरो पुग्नेमा अमेरिकी नागरिकको संख्या धेरै छ । यो सिजनमा ३२ जना अमेरिकी नागरिक चुचुरो पुगेका छन् । तथ्यांक अनुसार दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । यो सिजनमा २४ जना चिनियाँले सगरमाथा चढेका थिए । सफल आरोहण गर्ने भारतीय नागरिकको संख्या २० रहेको छ । बेलायतबाट १३ जनाले सफल आरोहण गरेका छन् ।

यो वर्षको चर्चित आरोही दल बहराइनका १० नागरिकले सगरमाथाको चुचुरो चुमेका छन् । यो टीममा बहराइनका राजपरिवारका एक सदस्य समेत समावेश थिए । यो सिजनमा रुसबाट ६, स्वीट्जरल्याण्ड, युक्रेन, रुस र ब्राजिलका ५/५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । क्यानडा र नर्वेका ४/४ आरोही सफल भए । तथ्यांक अनुसार रोमानिया र जर्मनीका ३/३ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । अष्ट्रिया, बेलारुस, आइसल्याण्ड, जापान, नेदरल्याण्ड्स, पाकिस्तान र पोल्याण्डका २/२ आरोहीले चुचुरो चुमेका छन् ।

उज्वेकिस्तान, तान्जानिया, ताजकिस्तान, ताइवान, स्वीडेन, दक्षिण अपि|mका, मोरोक्को, मोल्दोभा, मेक्सिको, लक्जेम्वर्ग, लात्भिया, कीर्गिन रिपब्लिक, इटली, इजरायल, इरान, हङकङ, फिनल्याण्ड, इस्टोनिया, क्रोएसिया, अष्ट्रेलिया र अर्जेण्टिनाका १/१ आरोही चुचुरो पुगेको विभागको तथ्यांकमा उल्लेख छ ।

अनुमति लिएका २२६ आरोही चुचुरो चुम्न असफल

विभागका अनुसार यो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये २२६ जना आरोही भने चुचुरोसम्म पुग्न असफल भएका थिए । दुई अनुमति प्राप्त आरोहीको आरोहणकै दौरान निधन भएको थियो । निधन हुनेमा एक अमेरिकी र एक स्वीस नागरिक थिए ।

कोरोना महामारीको अन्यौलका बीच यो वर्ष सगरमाथासहित हिमाल आरोहणको अनुमति दिइएको थियो । यो वर्ष एक सिजनमा सगरमाथाका लागि सबैभन्दा बढी संख्यामा आरोहण अनुमति जारी भएको थियो । महामारी जारी रहेकै समयमा भएको उत्साहजनक सहभागिताबाट व्यवसायी र सरकार भने उत्साहित भएका छन् ।

मौसमको चूनौती

यो वर्ष आरोहीले मौसमको चूनौति बढी नै सामना गर्नुपरेको थियो । जेठ पहिलो साताबाटै मौसमले भने चुनौती दिइरहृयो । जल तथा मौसम विज्ञान विभागले २ जेठमा एक सूचना जारी गरी ताउ-ते नामक शक्तिशाली चक्रवातको चेतावनी दियो । त्यसबेला विभागले हिमाल आरोहण नगर्न सिफारिस गरेको थियो । यो आँधीको प्रभाव एक साता रहेको थियो । लगत्तै अर्को आँधिको चेतावनी १४ जेठमा विभागले दियो । त्यसपछि भने चुचुरो जान अनुकूल मौसम कुरेका धेरै आरोही र्फकनु परेको थियो ।

१६ हिमाल चढ्न अनुमति जारी, ६ वटामा मात्र सफल आरोहण

यो वर्षको वसन्त ऋतुमा कूल १६ वटा हिमाल आरोहण गर्न अनुमति जारी भएको थियो । तर, सफल आरोहण भने मात्र ६ वटा हिमालमा प्राप्त भएको छ । यो सिजनमा सबैभन्दा धेरै आरोही सगरमाथा चढेका थिए । सगरमाथापछि दोस्रो स्थानमा ल्होत्से रहृयो । यहाँ ४ टीम लिडर, २१ आरोही र ४७ जना सहयोगी स्टाफ गरी कूल ७२ आरोहीले चुचुरो चुम्न सफल रहे । माउण्ट अन्नपूर्ण प्रथममा यो वर्ष २ टिम लिडर, २७ आरोही र ३९ सहयोगी स्टाफ गरी कुल ६८ जना चुचुरो पुगे ।

अमादब्लम हिमालमा २ टीम लिडर, १५ सदस्य र ६ सहयोगी गरी २४ आरोहीले सफल आरोहण गरेका छन् । माउन्ट पुमोरीमा १ टीम लिडर, ३ आरोही र ६ सहयोगीका साथ कुल १० आरोही चुचुरो पुगे । बरुण त्से हिमालमा एक लिडर र एक आरोही गरी कूल २ जना चुचुरो पुगेको विभागको तथ्यांक छ ।

यो वर्ष कुल १६ हिमाल चढ्न ८४ समूहका ७४२ जना आरोहीले अनुमति लिएका थिए । तर, सबै हिमालमा गरी ३० समूहका २६० आरोहीले मात्र चुचुरो चुम्न सकेको तथ्यांकले देखाएको छ । अर्थातः कूल अनुमति प्राप्त आरोही संख्याको ३५ प्रतिशत आरोहीले मात्र सफलता प्राप्त गरेका छन् । अनुमति प्राप्त आरोहीबाहेक ३७३ जना सहयोगी स्टाफले यी हिमाल चढेका छन् । यसअनुसार हिमाल चुचुरो पुग्ने कुल आरोहीको संख्या ६३३ रहेको छ ।

साभार:onlinekhabar

यिनिहरू पढ्न छुटे की ?