होम » यस्तो छ सोमबार व्रत बस्नुको महिमा र पूजाविधि

यस्तो छ सोमबार व्रत बस्नुको महिमा र पूजाविधि

by नागरिक टुडे

हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन् । सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवका पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । सोमबारको दिन ब्रत बस्दा र शिव भगवानको पूजा उपासना गर्दा लाभ हुने शिव पुराणमा उल्लेख गरिएको छ ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । ज्योतिष शास्त्रमा उल्लेख भएअनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव भगवान हुन । त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ ।

भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पूरा गरिदिने धार्मिक विश्वास छ । जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ। यसको दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ । जसबाट शिव भगवान प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ ।  अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ ।

मन्त्र :

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:

पूजा विधि :

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गएर शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस् । यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्। यसपछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप , दीप बालेर आरती गर्नुहोस्।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडि धेरै पौराणिक तथा धार्मिक कथनहरु छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन् । पहिलो कथा- एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ । दोस्रो- एक धनी व्यापारीको छ । जसको छोरा थिएनन् । लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो । कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो- शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । समय-समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ । व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे । यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ ।

यिनिहरू पढ्न छुटे की ?