होम » डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट हटाइयो, मरासिनीले पाए जिम्मेवारी

डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट हटाइयो, मरासिनीले पाए जिम्मेवारी

by नागरिक टुडे

डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएको छ । सोमबार स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयाबाट डा गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्पतालको जिम्मेवारी पाएदेखि नै डा. गौतम विभिन्न विवादमा मुछिँदै आएका थिए । गत जेठ १० गते स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट अस्पतालको प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाएका गौतमलाई परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । उनी मन्त्रालयमा आउनुअघि परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथलीमा थिए । आइतबार कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर) मा ८ महिनादेखि कोभिड जोखिम भत्ता तथा सेवा सुविधा नपाएको भन्दै प्रदर्शन गरेका कर्मचारीहरूलाई डा गौतमले प्रहरी बोलाएर कुटाएको आरोप लागेको थियो ।

डा. गौतमको ठाउँमा डा रुद्र मरासिनीलाई ल्याइएको छ । साथै स्वास्थ्य समन्वय शाखामा विवेकलाल कर्णलाई ल्याएको छ । सार्क क्षयरोग केन्द्रमा रहेका कर्णलाई स्वास्थ्य समन्वय शाखामा ल्याइएको हो । कर्णको ठाउँमा रिता भण्डारीलाई पठाइएको छ ।

यिनिहरू पढ्न छुटे की ?