होम » लयमा फर्किदै गरेको मेलम्चीमा असार १ को भन्दा ठुलो बाढी

लयमा फर्किदै गरेको मेलम्चीमा असार १ को भन्दा ठुलो बाढी

by नागरिक टुडे

विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो।

यसअघि क्षति पुर्‍याएका सबै स्थानमा शनिबारको बाढीले थप क्षति पुर्‍याएको छ। बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्कलगायत क्षेत्रमा पसेको छ।

नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ भने रेडियो मेलम्चीको भवन पनि बगाएको छ ।
असार १ को भीषण बाढीपछि लयमा फर्कन लागेको मेलम्ची आसपासका स्थानीय शनिबार राती आएको बाढीले फेरि त्रसित भएका छन् ।

शनिबार बेलुकी आएको बाढीले यस अघि बाकी रहेका भौतिक सरचनामा क्षति पु-याएको प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार हिजो बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको छ ।। अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना,प्रहरीको थप टोलि परिचालन गरेको छ ।

शनिबारको बाढीले मानवीय क्षति भने पुर्‍याएको छैन। हेलम्बु गाउँपालिका– १ का अध्यक्ष मिङमार लामाले बेलुकी ८ बजेतिर टेलिफोन गरी यसअघि पहिरो गएको स्थानमा पुनः ठूलो पानी परेको तथा काठ, ढुंगा र लेदोसहितको बाढी आउन थालेको खबर गरेका थिए।

‘ठूलो–ठूलो आवाज गरेर गडगडाएर बाढी आएपछि मैले तलतलका क्षेत्रमा खबर गरेको थिएँ,’ वडाध्यक्ष लामाले  भने, ‘हेलम्बु गाउँपालिका नाकोते खोलामा फेरि बाढी आएको छ। खोला असार १ गते जितिकै  आवाजमा आएको छ।

मेलम्ची खोला तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन अनुरोध गर्छु।’उनले खबर गरेको करिब एक घन्टापछि करिब ९ बजेतिर बाढी मेलम्ची बजार क्षेत्रमा आइपुगेको थियो।

यिनिहरू पढ्न छुटे की ?