होम » अर्थमन्त्री–चिनियाँ राजदूतबीच भेट, अनुदानको थप १६ लाख डोज खोप चाँडै आउने

अर्थमन्त्री–चिनियाँ राजदूतबीच भेट, अनुदानको थप १६ लाख डोज खोप चाँडै आउने

by नागरिक टुडे

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुन:निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे । मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गरे । उनले चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधीन परियोजनाहरू सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरूको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।

भेटको क्रममा चिनिया राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरेकी थिइन् । चिनियाँ जनता र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारी विरुद्धको लडाइँमा आफूहरू नेपालको साथमा रहँदै आएको बताए ।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् । यस्तै भूकम्पपछिको पुनर्निर्माण पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरूको पुनर्निर्माण सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरूको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिइन् ।

यिनिहरू पढ्न छुटे की ?