होम » फिल्म क्षेत्रलाई चलायमान बनाउन ओटीटी प्लेटफर्म आवश्यक : सिताराम-कुञ्जना

फिल्म क्षेत्रलाई चलायमान बनाउन ओटीटी प्लेटफर्म आवश्यक : सिताराम-कुञ्जना

by नागरिक टुडे
कोरोना महामारीपछि संसारभर ओटीटी प्लेटफर्मको लोकप्रियता बढेको छ । कोरोनाका कारण सिनेमा हलहरु बन्द भएपछि सीमित पैसामा घरमै बसेर फिल्म हेर्ने दर्शक ह्वात्तै बढेका छन् । जसले गर्दा नेटफ्लिक्स लगायतका ओटीटी प्लेटफर्मले फिल्म तथा सिरिज निर्माणमा ठूलो लगानी गरिरहेका छन् । यतिबेला फिल्म रिलिजका लागि ओटीटी प्लेटफर्म विकल्पको रुपमा उदाएको छ ।
कोरोना महामारीको समयमा सिनेमा हलका लागि निर्माण भएका हलिउड तथा बलिउडका कयौं फिल्म ओटीटीमा रिलिज भए र लगानी पनि उठाए । तर, नेपालमा सिनेमा हलमा रिलिज भइसकेका फिल्मबाहेक नयाँ फिल्म किन्न ओटीटी प्लेटफर्मले आँट गर्न सकेका छैनन् । निर्माताले पनि ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर करोडौंको लगानीमाथि जोखिम उठाउन चाहेको देखिन्न ।
नेपालका ओटीटी प्लेटफर्म सञ्चालक र निर्माता फिल्म खरिद विक्री गर्न डराएको अवस्थामा हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले वेब फिल्म ‘म त मर्छु कि क्या हो’ लाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने घोषणा गरेका छन् । ‘ओहो मुभीज्’ मा रिलिज हुने फिल्मको बुधवार ट्रेलर सार्वजनिक गरियो । फिल्मको रिलिज डेट केही दिनमा घोषणा गरिनेछ ।
कलाकार कट्टेलले यो समयमा फिल्म क्षेत्रलाई चलायमान बनाउन ओटीटी प्लेटफर्मको आवश्यकता रहेको बताएका छन् । बुधवार ट्र्रेलर रिलिज कार्यक्रममा उनले सिनेमा हलहरु बन्द भएको अवस्थामा फिल्म क्षेत्रलाई चलायमान बनाउन ओटीटी प्लेटफर्मले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मका लागि नै बनाइएको उनको भनाई छ ।
त्यस्तै, कुञ्जनाले पनि कोरोना महामारीको समयमा फिल्म इन्डस्ट्रीलाई चलायमान बनाउन ओटीटी प्लेटफर्मको आवश्यकता रहेको औंल्याइन् । उनी भन्छिन्, ‘कुनै पनि चिजको सुरुवातमा रिक्स मोल्नै पर्छ । फिल्म इन्डस्ट्रीलाई अगाडि लैजान ओटीटी प्लेटफर्म बलियो माध्यम हो । पब्लिकको माया हामीले कमाउने हो भने यस्ता प्लेटफर्ममा फिल्म हेर्ने बानी पनि हामीले नै लगाउनु पर्छ ।’
ओटीटीमा फिल्म रिलिज गर्न डराइरहे यस्ता प्लेटफर्मको विकास कहिल्यै नहुने कुञ्जनाको तर्क छ । सबै दर्शकको घरमा पुग्न सकिने भएकाले पनि ‘म त मर्छु कि क्या हो’ लाई ओटीटीमा रिलिज गर्न लागिएको उनी बताउँछिन् । सिताराम र कुञ्जनाले मिलेर निर्देशन र निर्माण गरेको फिल्ममा उनीहरु ‘मेरी बाँस्सै’ मा निर्वाह गरेको चर्चित पात्र धुर्मुस-सुन्तलीकै गेटअपमा देखिएका छन् ।

यिनिहरू पढ्न छुटे की ?