होम » ६ दिनमै छुटे-जसपा नेता प्रमोद गुप्ता

६ दिनमै छुटे-जसपा नेता प्रमोद गुप्ता

by नागरिक टुडे

आगजनीको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भई जेल चलान गरिएका जसपा नेता प्रमोद गुप्ता र अरुण सिंह छैटौं दिन मंगलबार छुटेका छन् । ६ महिना कैद सजाय तोकिएका उनीहरूलाई अदालतले बिहीबार जेल चलान गरेको थियो । जघन्य अपराधबाहेकमा १ वर्षसम्म कैद सजाय पाएका दोषी आचरणमा बसे र प्रतिदिन ३ सय रुपैयाँका दरले राज्यलाई रकम बुझाए छाड्न मिल्ने प्रावधान रहेको अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले बताए । सोही प्रावधानअन्तर्गत निवेदन दिएका उनीहरू न्यायाधीश प्रकाशप्रसाद पण्डितको आदेशमा रिहा भएको उनले जानकारी दिए ।
‘मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ मा १ वर्षभन्दा कम सजाय भएकालाई प्रतिदिनको ३ सयको दरले तिरे मैदमुक्त गर्ने व्यवस्था छ,’ उनले भने ।६ महिनाको कैदबापत ५४ हजार रुपैयाँ बुझाएर छुटेको गुप्ताले बताए । गुप्ता र सिंह अदालतमा हाजिर हुन गएका बेला जेल चलान गरिएका थिए । तेस्रो मधेस आन्दोलन (२०७४ माघ) ताका कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट शैलेश झाको गाडी जलाएको अभियोगमा गुप्तासहित दुवैलाई २०७४ माघ २५ मा अदालतले ६ महिना कैद राख्ने र पीडितलाई ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
आन्दोलनका क्रममा प्रहरीको गोली लागी भरत चोकमा कलैयाकै हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै आन्दोलनकारीले अस्पतालमा प्रदर्शन गर्नुका साथै चिकित्सकको कार जलाएका थिए ।उक्त घटनामा सुपरिटेन्डेन्ट झाले गुप्ता र सिंहविरुद्ध जाहेरी दिएका थिए ।

 

यिनिहरू पढ्न छुटे की ?