होम » तामाकोसी पाँचौँ बनाउन त्रिपक्षीय समझदारी

तामाकोसी पाँचौँ बनाउन त्रिपक्षीय समझदारी

by नागरिक टुडे

दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनामा ऋण लगानी गर्न त्रिपक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

१६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) ऋण लगानी गर्ने भएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम अन्य दुई संस्था र सर्वसाधारणलाई समेत सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने योजना छ ।

तामाकोसी पाँचौँ ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । त्यसैले यस आयोजनाले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुनपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ ।   माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत्गृह, करिब २ किलोमिटर २ सय २० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति ०७४ जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैंक (एआइआइबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माणपूर्वका कामहरू भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

यिनिहरू पढ्न छुटे की ?