होम » अनुसन्धान केन्द्र-विश्व–विद्या

अनुसन्धान केन्द्र-विश्व–विद्या

by नागरिक टुडे

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) ले आफ्नो ५० औं वार्षिकोत्सवमा ‘नेपाल जर्नल अफ स्ट्राटेजिक स्टडिज’ जर्नलको पुन: प्रकाशन थाल्नु र नयाँ प्रकाशनका रूपमा ‘नेपाल अध्ययन जर्नल’ निकाल्नु सुखद खबर हो ।खासमा कुनै पनि विश्वविद्यालयले जर्नल प्रकाशन गर्नु आफैंमा नियमित शैक्षिक गतिविधिभित्र पर्नुपर्ने कार्य हो । नेपालमा भने यो पाटो ओझेलमा परिरहेकाले यही पहललाई पनि सकारात्मक सुरुआत मान्नुपर्ने अवस्था आएको हो, भलै यतिले मात्रै एउटा अनुसन्धान केन्द्र समुचित रूपमा अघि बढ्न सक्दैन । यस्तो संस्थाका निम्ति यो त एउटा आधारभूत कार्य मात्र हो । संस्थाले आफूलाई अघि बढाउन थप अध्ययन–अनुसन्धान, बहस, पुस्तक प्रकाशनलगायतका कार्यहरू पनि यथोचित रूपमा गर्नुपर्छ । यस्तो प्राज्ञिक उन्नयनका निम्ति विश्वविद्यालयले उचित वातावरण बनाउनुपर्छ । यसको आर्थिक–प्राविधिक पाटोमा राज्यले सघाउनुपर्छ ।

सिनाससहित विश्वविद्यालयका अरू अनुसन्धान केन्द्रहरू— आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) लाई पनि गतिशील बनाउन विश्वविद्यालय र राज्य दुवैको ध्यान जानु अपरिहार्य छ । अनि मात्रै देशको जेठो र ठूलो विश्वविद्यालयको अस्तित्वको अर्थ रहन्छ ।

यिनिहरू पढ्न छुटे की ?