होम » कोरोनाले रोकिएको ‘डाँडाको बर पीपल’ को छायांकन सुरु गर्दै शोभित

कोरोनाले रोकिएको ‘डाँडाको बर पीपल’ को छायांकन सुरु गर्दै शोभित

by नागरिक टुडे

कोरोना महामारीले फिल्म क्षेत्र विगत डेढ वर्षदेखि कोमामा छ । गत वर्ष कोरोनाका कारण ९ महिना बन्द भएको फिल्म क्षेत्र लकडाउनपछि केही चलायमान भएको थियो । तर, फेरि कोरोनाको दोस्रो लहर फैलिएपछि फिल्म निर्माण र प्रदर्शन ठप्प भयो । तीन महिना लामो निषेधाज्ञा खुकुलो भएसँगै अहिले विभिन्न क्षेत्र खुल्न थालेका छन् । तर, फिल्म क्षेत्र बन्दको बन्दै छ ।

कोरोनाका कारण सिनेमा हल बन्द हुँदा निर्माण सकिएका दुई दर्जन बढी फिल्म रिलिज हुन पाएका छैनन् भने एक दर्जन बढी फिल्मको छायांकन अधुरैमा रोकिएको छ । जसले गर्दा निर्माताले फिल्ममा गरेको करोडौंको लगानी जोखिममा परेको छ । केही निर्माता तथा निर्देशक भने सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिएपछि कोरोनाले रोकिएको फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् । निर्देशक शोभित बस्नेतले गत चैत दोस्रो साता फिल्म ‘डाँडाको बर पीपल’ को गीत खिच्दै छायांकन सुरु गरेका थिए । तर, गीतको छायांकन सकिएको केही दिनमै कोरोनाको दोस्रो महामारीका कारण देशमा निषेधाज्ञा जारी भयो ।

अब निषेधाज्ञा खुकुलो भएसँगै उनी फिल्मको बाँकी छायांकन सुरु गर्ने तयारीमा जुटेका छन् । आउँदो भदौ १ गतेबाट छायांकन सुरु गर्न लागेको उनले बताए । शोभित भन्छन्, ‘हामीले गीत खिच्दै फिल्मको छायांकन सुरु गरेका थियौं । तर, गीतको छायांकन सकिएको केही दिनमै निषेधाज्ञा जारी भएपछि फिल्मको अरु दृश्य खिच्न पाएनौं । अब भदौ १ गतेबाट बाँकी छायांकन थाल्ने छौं ।’

शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द छ । फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा रहेका शिव र गौरीले करीब २० वर्षपछि एकसाथ काम गरेका हुन् ।

यिनिहरू पढ्न छुटे की ?