होम » पोर्न फिल्म बनाएको र प्रसारण गरेको आरोपमा राज कुन्द्रा पक्राउ

पोर्न फिल्म बनाएको र प्रसारण गरेको आरोपमा राज कुन्द्रा पक्राउ

by नागरिक टुडे

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ ।

मोबाइल एपमार्फत फिल्म प्रसारण गरेको आरोपमा कुन्द्रालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ । ‘यसबारेमा हामीसँग पर्याप्त प्रमाण छन्, थप अनुसन्धान गरिरहेका छौं,’ मुम्बई प्रहरीले प्रेस रिलिजमा भनेको छ । ब्रिटिस रियालिटी सो ‘सेलेब्रिटी बिग ब्रदर’ को २००७ का विजेतासमेत रहेका कुन्द्रा यसअघि पनि पटक–पटक विवादमा मुछिएका छन् । सन् २००५ मा कुन्द्रालाई क्रिकेटमा म्याच फिक्सिङको आरोप लागेपछि क्रिकेटसम्बन्धी सबै प्रकारका गतिविधिमा आजीवन प्रतिबन्ध लगाइएको थियो ।

पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको छ । ठुलो फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको छ ।

मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिइएको थियो । जसमा अश्लिल फिल्म छायाँकन भएको थियो । एपीआई लक्ष्मीकान्त सालुखेले उक्त बंगलामा छापा मारेको समय पनि अश्लिल फिल्मको सुटिङ चलिरहेको थियो । सो क्रममा आरोपीले एकमात्र नभएर कयौ एपमा यस्ता फिल्म रिलिज गर्ने गरेको समेत बुझिएको छ ।

यिनिहरू पढ्न छुटे की ?