होम » कुमार बस्नेतलाई वसुन्धराश्री र मीरा राणालाई मानश्री पुरस्कार

कुमार बस्नेतलाई वसुन्धराश्री र मीरा राणालाई मानश्री पुरस्कार

by नागरिक टुडे

काठमाडौँ — यस वर्षको वसुन्धराश्री र मानश्री पुरस्कार गायक कुमार बस्नेत तथा गायिका मीरा राणालाई प्रदान गरिने भएको छ ।

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले जारी गरेको विज्ञप्तिअनुसार, वसुन्धराश्री पुरस्कारको राशि ७५ हजार रुपैयाँ र मानश्री पुरस्कारको राशि ५० हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ । १७ वर्षको उमेरदेखि नेपाली लोकगीतको संकलन तथा गायनमा सक्रिय ७७ वर्षीय बस्नेतका ‘लोक कोसेली’, ‘नयाँ कोसेली’, ‘मादल घनघन’, ‘बेष्ट अफ कुमार बस्नेत’लगायतका संग्रह सार्वजनिक भइसकेका छन् ।

यस्तै, १४ वर्षको उमेरदेखि नेपाली गीत–संगीतका क्षेत्रमा सक्रिय रहँदै आएकी ७१ वर्षीया गायिका राणाका ‘लेकै फूल्यो लालीगुराँस’, ‘सदावहार लोकगीत’, ‘मीरा राणाका गीतहरु’ आदि संग्रह सार्वजनिक भएका छन् । प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीका अनुसार, अनुकुल स्थिति रहेमा आगामी असोज १३ मा पुरस्कार वितरण गरिनेछ । नेपाली भाषा–साहित्य, कला–संगीतको प्रवर्द्धनमा सहयोगी बन्नेगरी प्रतिष्ठान २ दशकअघि स्थापना भएको हो ।

यिनिहरू पढ्न छुटे की ?