Home कोरोना विषेश बेलायतमा कोरोनाबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६०

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६०

by nagariktoday

लण्डन – कोरोना भाइरस (कोभिड १९) बाट वेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६० पुगेको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरनका अनुसार सोमवार विहानसम्म ५० जना पुरुष र १० जना महिलाको कोरोना संक्रमणले निधन भएको छ ।

नेपाली दूतावास लण्डनका अनुसार निधन भएका मध्ये ४९ जना भूपु गोरखा हुन् भने बाँकी अन्य पेशामा आबद्ध थिए । दूतावासले बेलायतको रक्षा मन्त्रालय, स्थानीय काउन्सिल तथा अस्पताल र बिभिन्न संघसँस्थाबाट प्राप्त सूचनाको आधारमा सो तथ्यांक संकलन गरेको हो । आरनका अनुसार पछिल्लो सातादेखि नेपाली समुदायमा कोरोना भाइरसको संक्रमण उल्लेख्य रुपमा घटेको छ ।

दूतावासलाई प्राप्त सूचना अनुसार कोडिभ १९ बाट संक्रमण भएर अस्पताल भर्ना हुनेको संख्या र संक्रमणको गति निकै न्युन हुँदै गएको छ ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरनए) को स्वास्थ्य समितिले आइतवार प्रकाशन गरेको तथ्यांकमा बेलायतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५१ जना देखाएको थियो । एक दिनपछि सो संख्या बृद्धि भएर ६० जना पुगेको हो ।

दूतावासले जारी गरेको नयाँ तथ्यांक पछि कोरोनाको कारणले विश्वभर निधन हुने नेपालीको संख्या ८७ पुगेको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएले जनाएको छ ।

श्रोत : नागरिक दैनिक

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.