Home कोरोना विषेश भारतमा क्वारेन्टाइनमा बसेका २ सय ४२ लाई नेपाल ल्याइयो

भारतमा क्वारेन्टाइनमा बसेका २ सय ४२ लाई नेपाल ल्याइयो

by nagariktoday

भीमदत्तनगर – भारतमा ४५ दिन क्वारेन्टाइन बसेका २ सय ४२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो ।

आइतबार र सोमबार राति गरी दुई दिन सीमावर्ती भारतीय बजार वनवासाको स्कूलमा क्वारेन्टाइन बसेका २५१ जनामध्ये पहिलो दिन ७५ र सोमबार राति १६७ जनालाई भारतीय पक्षसित समन्वय गरी स्वदेश फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले वनवासामा ४५ दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई समन्वय गरी ल्याइएको जानकारी दिए । उनीहरुलाई भीमदत्तनगरस्थित वैजनाथ माध्यमिक विद्यालयमा राखेर आरडिटीका लागि नमूना सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए ।

‘परीक्षणमा कोरोना नदेखिए पनि सम्बन्धित पालिकामा कम्तीमा आठ दिन क्वारेन्टाइन बस्ने गरी पठाउने काम हुँदैछ,’ उनले भने, ‘यहाँ आरडीटी र पीसीआरका लागि नमूना संकलन भइरहेको छ ।’ उनले आइतबार आएकामध्ये धेरैलाई सम्बन्धित पालिकाको क्वारेन्टाइन पठाइसकिएको बताए ।

‘भारतमा एक राज्यबाट अर्को राज्य जान खुकुलो बनाएपछि नेपालीहरु सीमामा आउने क्रम बढ्यो,’ उनले भने, ‘हामीले सतर्कताका साथ काम गरिरहेका छौं ।’

भारतीय पक्षले क्वारेन्टाइनबाट घर जान अनुमति दिएका नागरिकले प्रहरीले सीमाक्षेत्रबाट उद्धार गरी यहाँको क्वारेन्टाइनमा कोरोना जाँचका लागि राख्ने गरेको छ ।

Facebook Comments

You may also like

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.