Tuesday, October 16News That Matters

प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह


बुटवल, २५ फागुन । पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए । शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्वबैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए ।

प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे । तराई र पहाडी भु–भागको समुचित विकासका लागि दातृ निकायको सहयोग आवश्यक रहने मन्त्री तथा सांसदको जोड छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सामान्य र बृहद स्तरका दुई कार्यक्रमलाई प्राथमिकतामा रोखर काम गर्न सुझाव दिए ।

विश्व बैंकले नेपालको संघीय संरचना अनुरुप प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरेर काम अगाडी बढाउने रणनीति तय गर्दैछ । आगामी चार वर्षिय लगानी योजना बनाउन विश्व बैंकले प्रदेश सरकारसंग छलफल गरेको हो । विश्व बैंकले सात प्रदेश मध्ये प्रदेश १ र ५ मा लगानी सम्भाव्यता क्षेत्र पहिचान गरिरहेको छ । तराई, पहाड र हिमाल समेटिएकाले यी दुई प्रदेशका विभिन्न परियोजना काम गर्ने रणनीति विश्वबैंकले बनाएको छ । नेपालमा करिव २२ अर्व लगानी गरिरहेको विश्वबैंकले प्रदेश सरकारसंगको सहकार्यमा योजना थप भए लगानी बढाउने तयारी गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई प्राथमिकता दिएको बैंकले आगामी वर्षदेखि शुरु हुने नया कार्यक्रममा थप परियोजनामा हात हाल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *