Wednesday, November 14News That Matters

विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती


काठमाडौं, २६ फागुन । क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ । शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव नेपाललाई धेरै हुनेछ । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ ।

त्यसो त यसअघिका तीनै खेल हारेको अफगानिस्तानलाई पनि आज कम दवाव भने हुने छैन । प्रतियोगिताकै उपाधि विजेताका रुपमा चर्चा बटुलेर जिम्बाबे पुगेको अफगानिस्तान समूह चरणका सबै खेल हारेर घर फर्किन चाहदैन र यसका लागि आज उसलाई अन्तिम अवसर प्राप्त हुनेछ । त्यसो त सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ । अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस्रो देश अफगानिस्तान, नेपाल र हङकङ जुन पनि हुन सक्छ ।

यस्तो अवस्थामा नेपालका लागि अफगानिस्तानको खराब लय र अफगानिस्तानका लागि अहिलेसम्मको हेड टू हेडको नतिजाले प्रेरणा दिनेछन् ।
खेल बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यसअघिका दुवै खेल नेपालले क्वीन्स स्पोर्टस क्लबको मैदानमा खेलेको थियो भने नेपालका लागि यो पीन नौलो हो । पूर्व निर्धारित खेल तालिकाअनुसार यस खेल पनि क्वीन्स स्पोर्टस क्लबमै हुनुपर्ने थियो । तर, आइसीसीले सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा खेलस्थल परिवर्तन गरेको हो ।

नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ७ पटक खेलेका छन् । जसमा नेपाल एकपटक मात्र विजयी भएको छ । सन् २००४ को एसीसी ट्रफीमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा आएको अफगानिस्तानलाई नेपालले ४७ रनले पराजित गरेको थियो । त्यसयताका ६ भेटमा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।

सन् २००६ को एसीसी ट्रफीमा ६४ रनले हारेको नेपालले २००८ को सोही प्रतियोगितामा ३ विकेटले पराजित भएको थियो । २००८ कै विश्व क्रिकेट लिग डिभिजन फाइभमा पनि नेपाल अफगानिस्तानसँग ३७ रनले पराजित भएको थियो ।

त्यस्तै सन् २०१० को एसीसी एलिट ट्रफीमा ९५ रन, २०१३ को इमर्जिङ टिम्स कपमा ३ रन र २०१४ को एसीसी प्रिमियर लिगमा १०४ रनले नेपाल पराजित भएको थियो । त्यसयता एकदिवशीय हुँदै टेष्ट मान्यता पाएको अफगानिस्तान र नेपाल एकदिवशीयमा अहिलेसम्म खेलेका थिएनन् ।

अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद सहजाद टिममा हुने छैनन् । उनी जिम्बावेविरुद्धको खेलमा खेल नियम विपरित व्यवहार गरेको भन्दै आइसीसीले उनलाई २ खेलको प्रतिबन्ध लगाएको छ ।

यसैपनि ब्याटिङको समस्या झेलिरहेको नेपाली टोलीका लागि टेष्ट मान्यता पाइसकेको अफगानी बलर नेपालका लागि चुनौति बन्न सक्छन् ।

जिम्बाबेसँगको खेलमा केही सुधार भएको झल्को दिए पनि नेपाली ब्याट्स्म्यानले स्कटल्याण्डसँग त्यस अनुसारको प्रदर्शन गर्न सकेनन् । क्रिजमा टिक्न नसक्ने छवी बनाइरहेको ओपनिङ लाइनअप र धर्मराउने मध्यक्रम दुवैका लागि आजको दिन परीक्षा हो । ब्याटिङले साथ दिए नेपाली बलरले आफ्नो धर्म निर्वाह गर्ने विश्वास गर्न सकिन्छ ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *