Tuesday, December 11News That Matters

बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा


नेपालगन्ज,२६ फागुन : प्रहरीले पाँच किलोग्राम सालकको खपटा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेका छ । नेपालगन्ज– २ स्थित ग्रिन प्यालेस होटलमा खरिद विक्रि भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हुम्ला सिमिकोट गाँऊपालिका – २ का वन छिरिङ लामा र बाँके राप्ती सोनारी – २ का सुजितजंग शाहलाई पक्राउ गरेको छ ।

चेकजाँच गर्दा लामाको साथमा रहेको ३ किलो ४०० ग्राम सालकको खपटा, तौल गर्ने तराजु, र शाहको साथमा रहेको १ किलो ५०० ग्राम सालकको खपटा सहित फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद सालकको खपटा सहित लामा र शाहलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाईएको छ ।

सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ। टाँक बनाउन पनि खपटा प्रयोग गर्छन्। एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अग्रपंक्तिमा पर्छ। सालकलाई स्थल माछा भनेर समेत चिन्छन् यसका पारखीले। विश्वमा चार किसिमका सालक पाइन्छ, तीमध्ये दुई किसिमको अफ्रिकामा मात्रै र दुई किसिमको एसियामा मात्रै पाइन्छ।

एउटा जवान सालकबाट एक किलो खपटा निस्किन्छ। किलोको एक लाख रुपैयाँ अवैध मूल्यमा सालकको खपटा बिक्री हुँदै आएको छ। नेपालमा सालक महाभारत र चुरे पहाडमा बढी पाइन्छ। कर्णालीका हु्म्ला, डोल्पा, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखालगायत मध्यपहाडी जिल्लामा सालक पाइन्छ। एसियामा पाइने दुईखालको (कालो र सेतो) सालक नेपालमा पनि पाइन्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखेको छ । यो ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० हजारदेखि ७५ हजार रुपैयाँ जरिवाना, एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *