Wednesday, November 14News That Matters

पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?


काठमाडौं,२६ फागुन : नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो भएको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । युद्ध र संकट कालले थिलथिलो भएको देशलाई वर्तमान अवस्थामा शान्तिपूर्ण राजनीतिले मात्र मल्हम लगाउन र विकास गर्न सक्ने बताउँदै गुुलरिया –२, बर्दियाका पूर्णवहादुर महतारा ‘विचार’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

विज्ञप्ती निकालेर महताराले विप्लव छोडेको घोषणा गरेका हुन् । ‘देशको आर्थिक समृद्धि, सुशासन र शान्ति तथा स्थायित्वका लागि नेपाली जनताको एकताको खाँचो छ । त्यसैले यही कुरालाई सम्झिदै मैले आजकै मितिदेखि नेकपा (विप्लव) समूहको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको छु ।’ महताराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महतराले विप्लव समूह परित्याग गरी आउँदा दिनहरुमा स्वतन्त्र रुपमा जीवन जिउने वाचा र प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने ‘ठूलो संघर्ष र वलिदानीको बीचबाट प्राप्त भएका उपलव्धिहरुलाई संस्थागत गर्न र त्यसको संरक्षण गर्नका लागि सबैले आ–आफ्नो ठाउँवाट सहयोग र समर्थन गर्न जरुरी छ ।’ विगत लामो समयदेखि जनयुद्धमा सहभागी भएर अहिलेसम्म राजनीतिक आन्दोलनमा समाहित हुँदै आएको र पार्टी विभाजनको क्रममा राजनीतिक विचारधाराको हिसावले नेकपा माओवादी (विप्लव) समूहलाई सामान्य समर्थन रहेको विज्ञप्तीमा उल्लेख छ ।

‘त्यतिबेला कुनै पनि गतिविधिमा लागिएन । तैपनि हालै सम्पन्न स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा प्रहरी प्रशासनले नियन्त्रणमा लिई झण्डै दुई महिना बढी समय हिरासतमा राख्यो ।’ भनिएको छ –‘काम गरेर खाने गरिव किसान भएकैले पटक–पटक हिरासतमा बस्दा घरपरिवार समेतको आर्थिक अवस्था झनै कमजोर बन्नुका साथै आतङ्कित हुने काम बाहेक अरु केही पाइएन ।’ वर्तमान अवस्थामा नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो रहेको भन्दै विप्लव समूह परित्याग गरिएको विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *